
बाँके, डुडुवा गाउँपालिका–४, सिधनियाघाट । वर्षायाममा राप्ती नदीमा बाढी आउँदा बगेर आएका काठ र दाउरा संकलन गर्ने पुरानो परम्परा यहाँका गाउँलेहरूले जीवित राखेका छन्। डुडुवा गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ का स्थानीयवासी बिहानै नदी किनारमा पुगेर काठ संकलनमा जुट्छन्। यो परम्परा पुस्तौँदेखि चल्दै आएको छ, जुन काठ संकलनको एक कला नै बनेको छ।

स्थानीय खेमलाल सोनखरका अनुसार, बाढीले बगाएर ल्याएका काठहरू गाउँलेहरूले रमाइलो मान्दै संकलन गर्छन्। “बालकदेखि वृद्धसम्म सबै नदी किनारमा जम्मा हुन्छन्। बाढीको समयमा डराउनुको सट्टा गाउँलेहरू रमाउँछन्,” उनले भने। उनका अनुसार, एक दिनमा ५० भन्दा बढी गाडी, काठ गाउँलेहरूले संकलन गर्छन्। बाढीले बगाएर ल्याएका काठहरू चुल्हो बाल्न, झ्याल–ढोका, खाट, कुर्सी बनाउन वा बेचेर जीविकोपार्जन गर्न प्रयोग हुन्छ। “विशेष गरी गरिब परिवारले यस्ता काठ बेचेर पेट पाल्ने गरेका छन्,” सोनखरले थपे।
राप्ती नदी छेउमा हुर्केका गाउँलेहरूले सानैदेखि काठ संकलनको कला सिक्छन्। बल्छी बनाएर काठ तान्ने, पौडी खेलेर नदीमा गएर काठ छोप्ने चलन पुस्तौँदेखि चल्दै आएको छ। “यो हाम्रो परम्परा हो, जतिखेर बाढी आउँछ, त्यतिखेर गाउँलेहरू भेला हुन्छन्, काठ संकलन गर्छन् र आ–आफ्नो दैनिक काममा फर्किन्छन्,” सोनखरले बताए।
अर्का स्थानीय युवा विष्णु प्रसाद यादवले पनि सानैदेखि काठ संकलनमा संलग्न भएको अनुभव सुनाए। “हामी सानैदेखि पौडी खेलेर, बल्छी प्रयोग गरेर काठ निकाल्छौँ। मसिनो–मोटो गरेर डेढ ट्राली काठ छोपिसकेँ,” उनले भने। यद्यपि, पौडी खेल्न नजान्ने बालबालिकाहरू भने नदी किनारमा आउँदैनन्। पौडी खेल्न जान्नेहरू भने काठ संकलनसँगै रमाइलो पनि गर्छन्।
यता, स्थानीय प्रशासनले काठ संकलनका क्रममा ज्यान जोखिममा पर्न सक्ने भन्दै यस्तो कार्य नगर्न आग्रह गरेको छ। तर, गाउँलेहरूले यो आग्रहलाई बेवास्ता गर्दै आएका छन्। “काठ बगेर भारततिर जानुभन्दा हामीले यहीँ संकलन गर्छौँ,” सोनखरले भने।
यो परम्पराले गाउँलेहरूको जीविकोपार्जनमा सहयोग पुगे पनि बाढीको समयमा नदीमा पस्दा हुने जोखिमप्रति भने सचेत हुन आवश्यक छ। स्थानीय प्रशासनले सुरक्षित तरिकाले काठ संकलन गर्न र ज्यानको जोखिमबाट बच्न विशेष ध्यान दिन आग्रह गरेको खेमलाल सोनखरले बताए ।
