
काठमाडौं । भारतले नेपालको भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेको छ । भारतले चीन सरकारसँगको सहकार्यमा नेपाली भूमि लिपुुलेक हुँदै यात्राको औपचारिक घोषणा गरेको हो । भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुने छ ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर यस वर्ष यात्राका लागि कुल २० समूह हुने जानकारी दिएको छ । तीमध्ये १० समूह उत्तराखण्ड हुँदै लिपुलेख पासबाट र अन्य १० समूह सिक्किम हुँदै नाथु ला पासबाट यात्रा गर्नेछन् । प्रत्येक समूहमा ५० जना यात्रु रहने छन् ।
यात्रामा सहभागी हुन इच्छुकहरूले आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्ने जनाइएको छ । आवेदन दिने अन्तिम मिति मे १९ तोकिएको छ । धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने कैलाश मानसरोवर यात्रा हरेक वर्ष हजारौं श्रद्धालुहरूको आकर्षणको केन्द्र बन्ने गरेको छ ।

यस्तो यात्राको रुट नेपालको भूमिमा पर्दा नेपाललाई जानकारी छैन । लिपुलेक पासबाट व्यापार अघि बढाउन भारत र चीनले यसअघि सहमति गरिसकेका छन् । यो सहमतिमा पनि नेपाल बेखबर छ । नेपालले कालापानी, लिपुलेक लिम्पियाधुरालाई आफ्नो भूमि भएको पनि भारतले मिचिरहेको भन्दै आपत्ति जनाइरहेको छ ।
