
नेपालगञ्ज, बाँके । मङ्गलबार बिहान नेपालगञ्ज बजारमा एक असामान्य दृश्य देखियो । पूर्वेलाइन त्रिभुवन चोक धर्मशाला नजिक ७० वर्षीय ईद्दु नट नामका वृद्ध बगलबीन (मशकबीन) बजाउँदै थिए ।


बाँके जिल्लाको तराई क्षेत्रका उचे मसहाका स्थानीय बासिन्दा ईद्दु नटले नेपालगञ्ज बजार करिब ८ किलोमिटर पैदल हिँडेर शहर पुगेका हुन् । उनी घर–घरमा पारम्परिक बगलबीन बाजा बजाएर भिक्षा सङ्कलन गर्दै जीवन गुजारा गरिरहेका छन् ।



बगलबीन वा मशकबीन उत्तर भारत (उत्तराखण्डको कुमाउँ–गढवाल, राजस्थान र उत्तर प्रदेश) तथा नेपालको सुदूरपश्चिम प्रदेशका केही जिल्लामा प्रचलित पारम्परिक वायुयन्त्र हो । यो बगपाइपजस्तै हुन्छ, जसमा बाख्राको छालाबाट बनेको थैलो (ब्याग) मा हावा भरेर पाइपहरूमा जोडिएका रीडबाट धुन निकालिन्छ । यो बाजा विवाह, उत्सव र लोक नृत्यहरूमा बजाइन्छ । यसलाई स्थानीय रूपमा मोशक, मुशक बाजा वा बीन बाजा पनि भनिन्छ ।

यस्तै यो यन्त्रको सजावटमा रङ्गीबिरङ्गी धागो र पोम–पोमहरू प्रयोग गरिन्छ, जुन उत्तर भारतीय तथा नेपाली तराईका लोक वादकहरूको शैलीसँग मेल खान्छ ।

यो बाजा नेपालको तराई र पहाडी क्षेत्रमा दुर्लभ हुँदै गएको छ, तर सांस्कृतिक महत्व भने कायमै छ । ईद्दु नटजस्ता वृद्ध कलाकारहरूले यसलाई जीवित राख्ने प्रयास गरिरहेका छन् ।
