
२२ बैशाख २०८३ – सरकारले भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित गर्दै स्थलमार्गबाट नेपाल प्रवेश गर्ने सवारी साधनको दर्ता प्रक्रिया अनलाइनमार्फत सुरु गरेको छ ।

अर्थ मन्त्रालय मातहतको भन्सार विभागले विदेशी नम्बर प्लेटका सवारी साधनले अब अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने प्रणाली सञ्चालनमा ल्याएको हो । उक्त प्रणालीको शुभारम्भ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार एक कार्यक्रमबीच गरेका हुन् ।
नयाँ प्रणाली लागू भएसँगै नेपालमा सवारी साधन लिएर आउने भारतीय तथा अन्य देशका पर्यटकले घरबाटै अनलाइनमार्फत विवरण भरी राजश्व तिर्न सक्नेछन् । यसअघि भने भन्सार नाकामै पुगेर अस्थायी इजाजत लिनुपर्ने बाध्यता थियो ।
यसका साथै यात्रा अवधि सकिँदा नवीकरणका लागि पुनः नाकामै जानुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था पनि अब अन्त्य हुने भएको छ । अब भने यात्रुहरूले आफू रहेको स्थानबाटै अनलाइनमार्फत अवधि थप गर्न सक्नेछन् ।
कार्यक्रममा अर्थमन्त्री वाग्लेले नयाँ प्रणालीले सीमा क्षेत्रमा पर्यटकले भोग्ने झन्झट हट्ने बताए । उनले सुशासन र छरितो सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकता दिँदै यस्तो प्रणाली सुरु गरिएको स्पष्ट पारे ।
‘सरकारले अनुशरण गरेको सुशासन र छरितो गुणस्तरीय सार्वजनिक सेवा दिने घोषणा कार्यन्वयनको क्रममा यो कार्य सुरु गरिएको हो,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘पर्यटकलाई कुनै कठिनाइ नहोस् । सरकारी सेवा छिटो र छरितो होस् भन्ने हामी चाहन्छौँ ।’
भन्सार विभागका महानिर्देशक श्याम प्रसाद मैनालीका अनुसार अब विदेशी सवारी साधनको इजाजत प्रक्रिया पूर्ण रूपमा डिजिटल भएको छ । पर्यटकले आफ्नो सवारी सम्बन्धी विवरण अनलाइनमै स्वयं घोषणा गर्न सक्नेछन्, जसले प्रक्रिया पारदर्शी र प्रभावकारी बनाउनेछ ।
राजश्व भुक्तानी पनि अनलाइन वा बैंकमार्फत गर्न सकिनेछ । अनलाइन भुक्तानी गरेपछि प्राप्त हुने क्यूआर कोड देखाएरै सवारी साधनले भन्सार जाँच पार गर्न सक्नेछ । सोही क्यूआर कोडका आधारमा नेपालभर यात्रा गर्न अनुमति हुनेछ ।
विभागका अनुसार ‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’ अन्तर्गत अस्थायी सवारी आयात (टीआईभी) मोड्युल विकास गरिएको हो । हाल यो सेवा भारत र बंगलादेशबाट आउने पर्यटक सवारीका लागि लागू गरिएको छ भने आवश्यकताअनुसार अन्य देशका सवारीका लागि पनि विस्तार गरिने जनाइएको छ ।
