लागुऔषध करोबारी माथि गोली प्रहार गरि, ३ सय ७० ग्राम खैरो हेरोइन सहित नियन्त्रणमा

संवाददाता
संवाददाता

नेपालगञ्ज : बाँके प्रहरीले नेपालगञ्जमा शनिबार केही राउन्ड गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी रमेश विष्टका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२२ स्थित शान्तिनगर चोकनजिक तीन राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकाहरूको साथबाट ३ सय ७० ग्राम खैरो हेरोइन समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–२२ का ३५ वर्षीय नुर मोहम्मद किङ्गरिया, सोही स्थानका २८ वर्षीय दिनेश बस्खोर र २९ वर्षीय फिरोज साई रहेका छन् ।

प्रहरी निरीक्षक विष्टले लामो समयको प्रयास र सुराकी परिचालनपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको जानकारी दिदै भने–‘हामीले धेरै दिनदेखि यी कारोबारीको पिछा गरिरहेका थियौँ, शनिबार कारोबार गरिरहेकै अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिन सफल भयौँ ।’

पक्राउ परेकाहरूलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाँकेमा दैनिकजसो लागुऔषध ओसारपसार र कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ पर्दै आएका छन् ।

दुई दिनअघि मात्रै जिल्लाको खजुरा क्षेत्रबाट प्रहरीले २७५ ग्राम ब्राउनसुगरसहित एक जना ठुला कारोबारीलाई पक्राउ गरेको थियो । उनको साथबाट स्टिलको नक्कली पेस्तोल, सक्कली गोली, तीनवटा मोटरसाइकल, दुईवटा गाडी र बैंकमा ठुलो मौज्दात रहेको चेकबुकसमेत बरामद गरिएको थियो ।

Leave a Comment

सम्बन्धित खबर