नाबालिग किशोरीलाई बहकाएर भारत लैजाँदै गरेको आरोपमा नाकाबाट अन्सारी पक्राउ

संवाददाता
संवाददाता

वीरगञ्ज । नाबालिग किशोरीलाई बहकाएर भारततर्फ लैजाँदै गरेको आरोपमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले एक युवकलाई वीरगञ्ज-रक्सौल मैत्री पुल नजिकबाट पक्राउ गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको अटो–रिक्सा जाँचका क्रममा युवक र किशोरीलाई नियन्त्रणमा लिइएको हो ।

प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका युवकले आफ्नो नाम मोहम्मद साहिल अन्सारी रहेको र घर भारतको बिहार राज्यस्थित पूर्वी चम्पारणको हरसिद्धि रहेको बताएका छन् । उनीसँग रहेकी नाबालिग किशोरी पनि सोही क्षेत्रकी भएको खुलेको छ । सोधपुछका क्रममा युवकले सन्तोषजनक जवाफ दिन नसकेको र सुरक्षा टोलीलाई भ्रममा पार्ने प्रयास गरेको देखिएपछि घटना शङ्कास्पद बनेको थियो ।

त्यसपछि एसएसबीको टोली तथा मानव बेचबिखन विरुद्धको इकाईले किशोरीलाई सुरक्षाका लागि आफ्नो नियन्त्रणमा लिएको थियो । महिला सुरक्षाकर्मीहरूको उपस्थितिमा प्रयास जुभेनाइल एड सेन्टर, स्वच्छ रक्सौल संस्था र जनजागरण संस्थाको समन्वयमा किशोरीको काउन्सेलिङ गरिएको थियो ।

काउन्सेलिङका क्रममा किशोरीले युवकले सिकाएका कुरा दोहोर्‍याउँदै आएकी थिइन् । तर मानव बेचबिखनका जोखिमबारे जानकारी गराएपछि उनले आफूलाई प्रेमको जालमा पारेर विवाहको प्रलोभन दिई घरबाट भगाइएको खुलासा गरिन् । पीडितका अनुसार करिब ७–८ महिनादेखि उनीहरूबिच फोनमार्फत सम्पर्क हुँदै आएको थियो ।

तीन दिनअघि युवकले उनलाई घरबाट भगाएर नेपाल ल्याई भाडाको कोठामा राखेको र घटनाको दिन भारतको गुजरात राज्यस्थित अहमदाबाद लैजाने तयारीमा रहेको बताइएको छ ।

अनुसन्धानका क्रममा किशोरी युवकको प्रभावमा परेर धार्मिक अभ्याससमेत परिवर्तन गर्न थालेको तथ्य पनि खुलेको छ । एसएसबीले किशोरीका अभिभावकसँग सम्पर्क गर्दा उनीहरूले पूर्वी चम्पारणस्थित हरसिद्धि थानामा अपहरणसम्बन्धी मुद्दा दर्ता गराइसकेको जानकारी दिएका छन् ।

एसएसबीको ४७औँ वाहिनी, प्रयास जुभेनाइल एड सेन्टर, स्वच्छ रक्सौल र जनजागरण संस्थाको समन्वयमा गरिएको प्रयासबाट किशोरीलाई सुरक्षित रूपमा उद्धार गरिएको छ भने मानव बेचबिखनको सम्भावित घटना विफल पारिएको छ ।

थप कानुनी कारबाहीका लागि पीडित र आरोपीलाई भारतको रक्सौलस्थित हरैया थानामा बुझाइएको छ । उद्धार कार्यमा सुरक्षाकर्मी तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

स्रोत : यात्राडेली

Leave a Comment

सम्बन्धित खबर