
सुभाष कर्ण

एसईईको परीक्षा दिएर घर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा घाइते भएका महोत्तरीको एकडारा गाउँपालिकाका ५ बथनाहाका २० वर्षीय अजय कापरको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ।
प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका अजयलाई चिकित्सकले यहाँ उपचार सम्भव नभएकाले थप उपचारको लागि अन्य ठाउँमा लैजान भनेकोमा रकम नहुँदा बाहिर लैजान नसकिएको उनका बुवा ६८ वर्षीय रामवरण कापरले बताए।
अजयको प्रादेशिक अस्पतालकै सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ। तर, प्रादेशिक अस्पतालले रेफर गरेको दुई दिन बितिसक्दा पनि परिवारले बाहिर लैजान नसकेको हो।
मंगलबार बिहान साढे ११ बजेको समयमा एसईई परीक्षा दिएर घर फर्कने क्रममा दुर्घटनामा परेका कापरको अझै आँखा खुलेको छैन।
दैनिक ज्याला मजदूरी गर्दै आएका बुवा रामवरणले भक्कानिँदै भने, ‘डाक्टरले दुर्घटना भएको भोलिपल्ट बिहान नै यहाँ उपचार सम्भव नभएकोले यहाँबाट बाहिर लग्नु भनेर रेफर गरिदियो। तर मसँग पैसा छैन। छोरालाई अन्य ठाउँमा लगेर उपचार गराउन दुई दिनदेखि पैसा खोजिरहेछु। पैसा अभावमा छोरा मृत्युसँग अस्पतालमै जुध्दैछ, गरीबलाई हेर्ने कोही छैन।’
दुर्घटना लगतै मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीशर्मा तिवारीले दुर्घटनामा घाइते भएकाहरुको परिवारसँग अस्पतालमा गएर भेट्दै उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भनेर प्रतिबद्धता जनाएकी थिइन्। घाइते हुने मन्त्री तिवारीकै निर्वाचन क्षेत्रका युवकहरू हुन्।
मन्त्री तिवारीले प्रतिबद्धता जनाएपनि पैसा नहुँदा उपचार अभावले अजय अहिलेसम्म अचेत अवस्थामै अस्पतालमा छन्।
अजयको नातामा दाई पर्ने राजकुमार कापर भन्छन्, ‘घरपरिवार चलाउन बुवासँग अजयले समेत दैनिक ज्यालादारीमा मजदुरी गर्दै आएका थिए। अजयको बुवाले घोडागाडी (तांगा) चलाएर चार छोरा र दुई छोरीलाई जसो तसो पालेको थियो। अहिले आधुनिक समयमा विभिन्न गाडीहरु आइसकेपछि घोडागाडी नचलेपछि उनी मजदूरी गर्दै आएका थिए। अजय पढ्न पनि जान्थ्यो र गाउँ घरमा मजदुरको रुपमा पनि काम गथ्र्यो। तर पैसा अभावमा उपचारको लागि बाहिर लग्न अवस्था छैन।’
अजयको नातामा दाई पर्ने राजकुमार कापर भन्छन्, ‘घरपरिवार चलाउन बुवासँग अजयले समेत दैनिक ज्यालादारीमा मजदुरी गर्दै आएका थिए। अजयको बुवाले घोडागाडी (तांगा) चलाएर चार छोरा र दुई छोरीलाई जसो तसो पालेको थियो। अहिले आधुनिक समयमा विभिन्न गाडीहरु आइसकेपछि घोडागाडी नचलेपछि उनी मजदूरी गर्दै आएका थिए। अजय पढ्न पनि जान्थ्यो र गाउँ घरमा मजदुरको रुपमा पनि काम गथ्र्यो। तर पैसा अभावमा उपचारको लागि बाहिर लग्न अवस्था छैन।’
गएको मंगलबार एकडारा गाउँपालिका ५ स्थित जलेश्वर सम्सी हुलाकी सडक खण्डमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको थियो। दुर्घटनापश्चात गाडीमा आगो लागेपछि तीनजनाको घटना स्थलमै जलेर मृत्यु भएको थियो।
प्रधानमन्त्री बालेन्द्र शाहको पैतृक गाउँमा भएको उक्त दुर्घटनामा परेर जलेश्वर नगरपालिका ६ बस्ने रामदयाल दासका २० वर्षीय छोरा रवि दास, सुरेन्द्र दासका छोरा २० वर्षीय सुभाष दास र एकडारा ३ बस्ने शत्रुधन मण्डलका छोरा अभिषेक मण्डलको मृत्यु भएको थियो।
उक्त दुर्घटनामा अजयसँगै जलेश्वर ६ धबौली बस्ने सुरेश दासको छोरा रोहित दास र लखिन्द्र कापरको छोरा अभय कापर पनि गम्भीर घाइते भएका थिए।
अजयलाई उपचारका लागि लगियो भने रोहित र अभयलाई जनकपुरधामकै रामजानकी अस्पताल ल्याइयो। रोहित र अभयको पनि पारिवारिक अवस्था कमजोर नै छ। तिनका परिवाहरूले पनि सहयोगका लागि अपिल गरेका छन्। प्रदेश सरकारले गरेको प्रतिबद्धता पूरा नहुँदा घाइतेले उपचार पाउन नसकेको भनी सामाजिक सञ्जालमा अहिले निकै आलोचना भइरहेको छ।
प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुन प्रसाद सिंहले भने, ‘गम्भीर अवस्थामा प्रादेशिक अस्पतालमा ल्याइएका अजयलाई न्युरो सर्जन डा. प्रधुम्न कुमार यादवले उपचार गर्दा केही सुधार आयो। तर उनलाई न्युरो सर्जनको टिमको आवश्यकता भएकाले यहाँ त्यो उपलब्ध नरहेकाले थप उपचारको लागि यहाँबाट अन्य ठाउँमा रेफर गरिएको छ। तर पैसा अभावले लगेका छैनन्।’
उपचारमा खटेका डा. प्रद्युम्न कुमार यादव भन्छन् ‘बिरामीको अवस्था गम्भीर छ। अहिले भेन्टिलेटरमा केही उपचार गरिँदैछ। तर त्यो पर्याप्त छैन। अजयलाई सिभियर इन्जरी नन सर्जिकल अर्थात् टाउकोमा रगत दुई वटा सेन्टरमा जमेको कारण यहाँ उपचार सम्भव छैन, न्यूरो सर्जन टीम नै चाहिन्छ। उहाँलाई जतिसक्दो चाँडो लग्यो बचाउन सकिन्छ, नभए बिरामी झन् समस्यामा पर्नेछ।
स्रोत : नेपालखबर
