
नेपालगञ्ज, २६ चैत २०८२ । जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज, बाँकेले विभिन्न मिति र स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली तस्करी गरी ल्याइएका खाद्यान्न, फलफूल, चिनी, माउंटेन ड्यू नामक पेय पदार्थ लगायतका सामान बरामद गरेको छ।


प्रहरीका अनुसार बरामद गरिएका सामानहरूको कुल अनुमानित मूल्य रु. १,७२,०८० (एक लाख बहत्तर हजार अस्सि रुपैयाँ) रहेको छ। यी सामानहरू बाँके जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको जनाएको छ।
बरामद गरिएका मुख्य सामानहरूमा: खाद्यान्न,फलफूल (अंगुर/ग्रेप्स) दुग्धजन्य उत्पादन (अमुल ब्रान्डका पिज्जा चिज, मख्खन लगायत) माउंटेन ड्यू जस्ता पेय पदार्थ वा अन्य विभिन्न खाद्य सामग्रीहरू रहेका छन्।

प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, विभिन्न मिति र स्थानबाट तस्करी गरी ल्याइएका यी सामानहरू बरामद गरिएको हो। बरामद सामानको फोटोमा देखिएका छन् — ठूलो मात्रामा अमुल पिज्जा चिजका प्याकेटहरू, अंगुर भरिएको क्रेट, मैदा, चामल र अन्य खाद्य पदार्थका बोराहरू रहेका छन ।

जिल्ला प्रहरी कार्यालय नेपालगञ्जका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) दिपक पातलीले हस्ताक्षर गरेको विज्ञप्तिमा भन्सार छली नियन्त्रण र अवैध तस्करी रोक्न प्रहरीले निरन्तर अनुगमन र कारबाही गरिरहेको उल्लेख छ।

यसैगरी सीमा क्षेत्रमा हुने अवैध तस्करीलाई नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको छ । बरामद सामानहरू भन्सार कार्यालयमा बुझाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
