
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको व्यक्ति हत्या घटनासँग सम्बन्धित आरोपमा तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजाल पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार बिहान सुविधानगरस्थित निवासबाट पक्राउ गरेको हो । पक्राउ परेका रिजाललाई थप अनुसन्धान तथा मुद्दा प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।
अब जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरिएको थियो । आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन सीडीओ रिजालसहित गृहसचिव गोकर्णमणि दुवाडी, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही सिफारिस गरिएको थियो ।
त्यसैगरी तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापासहितलाई ज्यानसम्बन्धी मुद्दामा कारबाही गर्न पनि आयोगले सिफारिस गरेको थियो ।
उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गत १३ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । सुरक्षा निकायसम्बन्धी विषयमा भने थप छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको छ ।
यस्तै, गृहमन्त्री सुधन गुरुङले निर्णय कार्यान्वयनका लागि निर्देशन दिएसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ परिसकेका छन् । सोही क्रमको निरन्तरतामा रिजाललाई पनि पक्राउ गरिएको हो ।
जेनजी आन्दोलन हिंसात्मक बनेपछि रिजालले २३ भदौ दिउँसो १२ः३० बजेदेखि बानेश्वर क्षेत्रमा कफ्र्यु आदेश जारी गरेका थिए । तर स्थानीय प्रशासन ऐन, २०२८ अनुसार गोली चलाउँदा घुँडामुनि मात्र चलाउनुपर्ने व्यवस्था भए पनि अधिकांश प्रदर्शनकारीको टाउको र छातीमा गोली लागेको पाइएको आयोगको निष्कर्ष छ ।
प्रतिवेदनमा ‘अत्यधिक बल प्रयोग’ (एक्सेसिभ युज अफ फोर्स) भएको उल्लेख गर्दै आवश्यक सतर्कता नअपनाइएको, भीड नियन्त्रणका उचित उपाय अवलम्बन नगरेको र शासकीय अधिकारको प्रभावकारी प्रयोग गर्न नसकिएको औंल्याइएको छ ।
आयोगसँगको बयानमा रिजालले घुँडामुनि रबरको गोली चलाउन आदेश दिएको दाबी गरे पनि उपलब्ध प्रमाणसँग मेल नखाएको प्रतिवेदनमा उल्लेख छ ।
रिजालको हेलचेक्र्याइँका कारण मानवीय क्षति भएको ठहर गर्दै आयोगले मुलुकी फौजदारी अपराध संहिताको दफा १८२ अनुसार कारबाही सिफारिस गरेको छ । उक्त व्यवस्थाअनुसार हेलचेक्र्याइँपूर्ण कार्यका कारण ज्यान गएको ठहरिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको छ ।
स्रोत : मकालुखबर
