प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय रामगोपाल वैश्यको आठौं पुण्यतिथिमा विद्यार्थीहरूलाई आवश्यक सामग्री वितरण

संवाददाता
संवाददाता

१३ पौष २०८२ आइतबार

नेपालगन्ज : शनिबार नेपालगन्जमा प्रेस स्वतन्त्रता सेनानी रामगोपाल वैश्यको आठौं पुण्यतिथीको अवसरमा विभिन्न विद्यालयका जरुरतमन्द विद्यार्थीहरूलाई आवश्यक शैक्षिक तथा न्यानो ड्रेस सामग्री वितरण गरिएको छ।

स्वर्गीय प्रेस स्वतन्त्रता सेनानी रामगोपाल वैश्यकी श्रीमती शिवदेवी वैश्यको अध्यक्षतामा आयोजित कार्यक्रममा श्री चन्द्रमेवालाल विद्यालयका १० जना, महेन्द्र माध्यमिक विद्यालयका ५ जना गरी कुल १५ जना विद्यार्थीहरूलाई जुत्ता र मोजा प्रदान गरिएको थियो। यसैगरी, महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो स्कूल ड्रेस पनि वितरण गरिएको छ।

वितरण कार्यक्रममा अतिथिहरूले शुभकामना तथा धन्यवाद व्यक्त गरेका थिए। श्री चन्द्रमेवालाल स्कूलकी प्रधानाध्यापिका संगीता पन्थीले जरुरतमन्द विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलीप कुमार साहले पुण्यतिथीको अवसरमा सामग्री प्रदान गर्ने परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

यसैक्रममा, नेपाल सरकारअन्तर्गत युनेस्को नेपालको राष्ट्रिय आयोगकी सदस्य ( बेबी )तबस्सुम अन्सारीले श्रद्धेय प्रेस स्वतन्त्रता सेनानी रामगोपाल वैश्यले पत्रकारिता क्षेत्रमा पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय, उदाहरणीय र नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताउनुभयो। उहाँले जाडो याममा जरुरतमन्द बालबालिकालाई जुत्ता, मोजा र न्यानो ड्रेस प्रदान गर्ने कार्यप्रति अध्यक्ष शिवदेवी वैश्य तथा उहाँको परिवारलाई हार्दिक आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा स्वर्गीय वैश्यका माइला छोरा विजय गुप्ताले आफ्नो क्षमताअनुसार जरुरतमन्द विद्यार्थीहरूका लागि सामग्री व्यवस्था गरी प्रदान गरेको बताउनुभयो। स्वर्गीय प्रेस स्वतन्त्रता सेनानी रामगोपाल वैश्यको पुण्यतिथी कार्यक्रममा वैश्य परिवारका समस्त सदस्यहरूको उपस्थिति रहेको थियो।

कान्छो भाइ पत्रकार भरत वैश्यले यस् कार्यक्रमले स्वर्गीय रामगोपाल वैश्यको स्मृतिमा सामाजिक सेवाको निरन्तरता दर्साउँदै जरुरतमन्दहरूप्रति परिवारको सद्भावना प्रकट गरेको बताए ।

Leave a Comment

सम्बन्धित खबर