
भारतको उत्तर प्रदेश राज्यअन्तर्गत बहराइच जिल्लाको रूपईडीहा थाना क्षेत्रमा आइतबार (७ डिसेम्बर २०२५) मिशन शक्ति फेज ५.० को विशेष अभियान सञ्चालन गरिएको छ। नेपालसँगै जोडिएको यो क्षेत्रको बाबागंज मेलामा आयोजित कार्यक्रममा सयौं महिला तथा बालिकाहरू सहभागी भएका थिए।


रूपईडीहा थानाको मिशन शक्ति टोलीले उत्तर प्रदेश सरकारका विभिन्न जनकल्याणकारी योजनाहरूको जानकारी दिँदै महिला तथा बालिकामाथि हुने अपराधविरुद्ध जागरूकता अभियान चलाएको थियो। कार्यक्रममा बालविवाह, मानव बेचबिखन तथा घरेलु हिंसाजस्ता विषयमा व्यापक छलफल गरियो भने सहभागी सबैले यस्ता कुप्रथाविरुद्ध सामूहिक शपथ पनि लिए।

महिला तथा बालिका हिंसा भएमा तत्काल सहायता प्राप्त गर्न निम्न टोल-फ्री नम्बरहरूको जानकारी दिइयोः
1090 (महिला हेल्पलाइन), 1098 (चाइल्डलाइन), 1076, 112 (आपत्कालीन), 181 (महेल्पलाइन), 108 (एम्बुलेन्स) तथा साइबर अपराधका लागि 1930।

यसैगरी, उत्तर प्रदेश सरकारले सञ्चालनमा ल्याएका महत्वपूर्ण योजनाहरूः
कन्या सुमंगला योजना, मातृ वंदना योजना आदिको विस्तृत जानकारी दिइयो। कार्यक्रममा बालिकाहरूसँग प्रत्यक्ष कुराकानी गर्दै उनीहरूका समस्या सुन्ने र समाधानको प्रयास गर्ने काम पनि गरियो।

कार्यक्रमको अन्त्यमा “बहू-बेटी सम्मेलन” आयोजना गरी महिलाहरूले भोगिरहेका घरेलु, सामाजिक तथा कानुनी समस्याहरू खुलस्त रूपमा राखेका थिए। मिशन शक्ति टोलीले पर्चा-पम्पलेट वितरण तथा होर्डिङ बोर्डहरूमा टाँस्ने कामसमेत गरेको थियो।

यो अभियानको नेतृत्व रूपईडीहा थानाका एसआई सूर्यभान, हेड कन्स्टेबल अर्जुन मौर्य तथा महिला कन्स्टेबल प्रिया पाण्डेयले गरेका थिए।
