
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाराको सिमरामा भएको हिंसात्मक घटनालाई नियन्त्रणबाहिर जान नदिन अपिल गरेका छन् । सामाजिक सञ्जालमा बिहीबार लेख्दै उनले उच्च संयमता देखाउन अपिल गरेका हुन् ।

‘बाराको सिमरामा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन हार्दिक अनुरोध गर्दछु । लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन,’ प्रचण्डले भनेका छन् ।
उनले अगाडि भनेका छन्, ‘राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेताहरूलाई निर्वाध रूपमा हिँडडुल गर्ने, सभा–सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु । घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा समेत सचेत र जिम्मेवार बन्न सबै पक्षसँग आग्रह गर्दछु । साथै, स्थानीय पार्टी समितिहरूलाई परिस्थितिलाई सामान्य बनाउन आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन गर्दछु ।’
एमालेले सिमरामा कार्यक्रम गर्न खोज्दा जेन–जीसँग बढेको तनावपछि सिमरा अशान्त बनेको छ । स्थिति तनावग्रस्त बनेपछि दोस्रो दिन पनि सो क्षेत्रमा कर्फ्यु लगाइएको छ । स्थितिलाई साम्य बनाउने प्रयासको लागि प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा परिषद्को बैठक गरिहेकी छन् । चुनावको मुखमा निषेधको नीति लिएको भन्दै दलहरूले चिन्ता प्रकट गरेका छन् ।
स्रोत : शिलापत्र
