छठ पर्व : सुरक्षाका लागि ‘अप्रेसन आस्था’ लागू

संवाददाता
संवाददाता

तराई मधेसको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका लागि ‘अप्रेसन आस्था’ लागू गरिएको छ। छठपर्व शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले ‘अप्रेसन आस्था’ नामक विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको मधेस प्रदेश प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले जानकारी दिए।

यस योजनाअन्तर्गत प्रदेशभरका ८ वटै जिल्लामा करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरी नायब महानिरीक्षक थपलियाले ‘अप्रेसन आस्था’बारे जानकारी दिँदै छठपर्वको संवेदनशीलतालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रबन्ध मिलाइएको बताए। उनका अनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, झैझगडा गर्ने, भीडभाडमा अव्यवस्था सृजना गर्नेलगायत सम्भावित घटनालाई रोक्न यो विशेष योजना लागू गरिएको हो।

तस्बिर : अजयकुमार साह/रासस

सुरक्षाकर्मीको परिचालनमा ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली र सादा पोशाकका सुरक्षाकर्मीसमेत समावेश गरिएको छ। प्रहरी नायब महानिरीक्षक थपलियाले प्रहरी बललाई छठघाट, तलाउ, नदी किनार, बजार क्षेत्र र मुख्य राजमार्गमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको बताए। उनले छठपर्व आस्थासँग जोडिएको पर्व भएकाले जनताको श्रद्धा र विश्वास सुरक्षित राख्न सुरक्षाका सबै संयन्त्र सक्रिय रूपमा खटिने प्रतिबद्धता व्यक्त गरे।

प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने वा सार्वजनिक स्थानमा हुलदङ्गा गर्ने जोकोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिएको छ। थप निगरानीका लागि अत्यधिक भीडभाड हुने स्थलहरूमा सिसी क्यामेराबाट निगरानी, सुरक्षाचौकी स्थापना र मोबाइल गस्ती टोलीलाई सक्रिय पारिएको छ। रासस

Leave a Comment

सम्बन्धित खबर