
बहराइच, भारत – भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा नेपाली नागरिकलाई महिलामाथि अभद्र टिप्पणी र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालको बाँके जिल्लाको वडा प्रहरी थानाअन्तर्गत रानी तालाबका २५ वर्षीय मोनू उर्फ चुन्ना कसगर रहेका छन्। उनी अली हुसेन कसगरका छोरा हुन्।

घटना बहराइच जिल्लाको रूपईडीहा थानाअन्तर्गत स्टेशन रोडमा फलफूलको पसल नजिकै भएको हो। प्रहरीका अनुसार, मिसन शक्ति फेज ५ र एन्टी रोमियो टिमले अभियानका क्रममा आरोपीले आउजाउ गर्ने महिला तथा बालिकामाथि अभद्र टिप्पणी र हरकत गरेको पाइएपछि पक्राउ गरिएको हो।
बहराइचका पुलिस अधीक्षकको निर्देशनमा अपर पुलिस अधीक्षक (ग्रामीण) दुर्गा प्रसाद तिवारी, क्षेत्राधिकारी नानपारा प्रद्युम्न सिंह र प्रभारी रमेश सिंह रावतको नेतृत्वमा यो कारबाही गरिएको थियो। मिसन शक्ति र एन्टी रोमियो टिमका उपनिरीक्षक संजीव कुमारको नेतृत्वमा रहेको टोलीले आरोपीलाई पक्राउ गरेको हो। टोलीमा हेड कन्स्टेबल समशेर अहमद, अर्जुन प्रसाद मौर्या, महिला कन्स्टेबल प्रिया पाण्डेय र कनक सरोज पनि थिए।
रूपईडीहा थानामा मुद्दा नम्बर २९९/२०२५ अन्तर्गत धारा २९६ बीएनएसमा मुद्दा दर्ता गरी आवश्यक कानुनी कारबाही अघि बढाइएको छ। यो अभियान महिलाको सुरक्षा र सशक्तीकरणका लागि सञ्चालित रहेको जनाएको छ।

