
नेपालगन्ज , असोज २८ , २०८२ । जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध मुद्दामा पक्राउ परेका एक व्यक्तिबारे प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आएका भ्रामक समाचारहरूको खण्डन गरेको छ।


प्रहरीका अनुसार, भदौ २० गते पक्राउ परेका जानकी गाउँपालिका–५ बस्ने ४३ वर्षीय नइम खाँलाई स्वास्थ्य समस्या देखिएपछि हाजिरी जमानीमा छोडिएको थियो, तर उनी उपचारपछि प्रहरीमा उपस्थित भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार, भदौ २० गते कोहलपुर नगरपालिका–१४ पार्वतीपुरबाट नइम खाँलाई ३३ ग्राम ९१० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको थियो। पक्राउपछि उनीमाथि अनुसन्धान भइरहेको थियो, तर स्वास्थ्यमा समस्या देखिएपछि र भदौ २३ तथा २४ गते देशव्यापी रूपमा भएका जेन–जी प्रदर्शनहरूका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखी भदौ २४ गते उनलाई सहोदर छोरा शेर मोहम्मद खाँको जिम्मामा हाजिरी जमानी लगाई छोडिएको थियो।

विज्ञप्तिमा भनिएको छ, “उपचारपछि अशोज २७ गते निज प्रतिवादी इलाका प्रहरी कार्यालय कोहलपुरमा उपस्थित भई थप अनुसन्धान कार्य अगाडि बढाइएको छ।” प्रहरीले यस विषयमा विभिन्न सञ्चार माध्यमबाट प्रसारित अनर्गल तथा भ्रामक समाचारहरूमा कुनै सत्यता नभएको जनाएको छ।

