प्रधानमन्त्री ओलीको जीएसआईमा जोड, लिपुलेकबारे कुरै भएन : चिनियाँ विज्ञप्ति

संवाददाता
संवाददाता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणसँगै चीनले नेपालले आफ्नो ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) लाई समर्थन गरेको दाबी गरेपछि नेपालभित्र विरोध चर्किएको छ ।

शनिबार तियानजिनमा ओली र राष्ट्रपति सी चिनफिङबीच भएको भेटपछि चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालले जीएसआई, जीडीआई र जीसीआईलाई समर्थन गरेको उल्लेख गरेको थियो ।

तर प्रधानमन्त्रीको टोलीमा रहेका मन्त्री र अधिकारीहरूले यस्तो विषय उठ्नै नसकेको बताएका छन् ।

पर्यटनमन्त्री बद्री पाण्डे, आर्थिक सल्लाहकार युवराज खतिवडा र चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले चिनियाँ दाबीलाई अस्वीकार गरेका छन् ।

संविधानको धारा ५१ ले नेपाल असंलग्नता र पञ्चशीलमा आधारित परराष्ट्र नीति अपनाउने स्पष्ट व्यवस्था गरेको छ ।

त्यसैले अमेरिका र चीनका रणनीतिक पहलजस्तै आईपीएस वा जीएसआईमा नेपालले औपचारिक रूपमा भाग लिएको छैन ।

विज्ञहरूले पनि संसद् वा मन्त्रिपरिषद्मा छलफलबिनै समर्थन जनाइए नेपालको हितमा नहुने चेतावनी दिएका छन् ।

चीनले विगत केही वर्षदेखि नेपाललाई जीएसआईमा सहभागी गराउन आग्रह गर्दै आएको भए पनि नेपालले अस्वीकार गर्दै आएको थियो ।

यसैबीच प्रधानमन्त्री ओलीले सीसँगको भेटमा भने लिपुलेकलाई नेपालको भूभागका रूपमा मान्यता दिन आग्रह गरेको परराष्ट्र सचिव अमृत राईले जानकारी दिएका छन् ।

तर चिनियाँ विज्ञप्तिमा लिपुलेकको प्रसंग उल्लेख नभई जीएसआई समर्थन मात्र जोड दिइएको छ ।

यसबारे सरकारको आधिकारिक धारणा अझै सार्वजनिक भइसकेको छैन ।

स्रोत : विश्वखबर

Leave a Comment

सम्बन्धित खबर