जनकपुरमा प्रहरी र स्थानीयबिच झडप: सात प्रहरीसहित एक जना स्थानीय गोली लागी घाइते

संवाददाता
संवाददाता

जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रुपैठामा शनिबार प्रहरी र स्थानीयबिच भएको झडपमा सात प्रहरीसहित एक जना स्थानीय गोली लागी घाइते भएका छन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार २९ वर्षीय लक्ष्मण मुखियालाई प्रहरीले चलाएको गोली लाग्दा दुवै घुँडामा चोट पुगेको हो। उनको जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइते सात प्रहरी र केही सर्वसाधारणको पनि त्यही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

झडप देवपुरा रुपैठास्थित झण्डाचोकमा राखिएको टावरलाइटको झन्डा हटाउने क्रममा भएको हो। प्रहरी झन्डा हटाउन पुगेपछि स्थानीयले ढुङ्गामुढा गरेका थिए। त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो।

शुक्रबार गणेश पूजाको मूर्ति विसर्जन गर्ने विषयमा दुई समुदायबिच विवाद भएपछि शनिबार दुवै पक्षका अगुवाहरूको उपस्थितिमा आइतबार (आज) झन्डा हटाउने सहमति भएको थियो। तर सहमति कार्यान्वयन गर्ने क्रममा झडप चर्किएको प्रहरीले जनाएको छ।

स्रोत : रातोपाटी

Leave a Comment

सम्बन्धित खबर