नेपाल राष्ट्र बैंकले फेरी भन्यो – “भारु सयको नोटबाहेक अन्य दरका नोट नराख्नु र कारोबार नगर्नु”

संवाददाता
संवाददाता
नेपाल राष्ट्र बैंकले नेपाली नागरिकलाई भारतबाहेक अन्य देशबाट भारतीय रुपैयाँ (भारु) ल्याउन वा लैजान पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । केन्द्रीय बैंकले जारी गरेको सूचनामा सर्वसाधारणलाई भारतीय सयको नोटबाहेक अन्य दरका नोट नराख्न र कारोबार नगर्न समेत सुझाव दिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा ओसारपसार सम्बन्धी व्यवस्थालाई कडाइका साथ लागू गर्न विदेशी विनिमय ऐन, २०१९ को दफा ५ र १२, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २९क, तथा २३ पुस २०७५ को नेपाल राजपत्रमा उल्लेखित सूचनालाई आधार बनाइएको छ ।

केन्द्रीय बैंकले विशेष रूपमा भारतीय सयको नोटलाई मात्र प्रयोग गर्न सुझाएको छ । २३ पुस २०७५ को नेपाल राजपत्रको सूचना अनुसार ९ नोभेम्बर २०१६ भन्दा अगाडि प्रचलनमा रहेका भारु ५०० र १,००० दरका नोटको कारोबार गर्न पूर्ण रूपमा निषेध गरिएको छ । त्यस्तै, भारु २००, ५०० र २,००० दरका नोट राख्न, ओसारपसार गर्न वा कारोबार गर्नसमेत प्रतिबन्ध लगाइएको छ ।

केन्द्रीय बैंकका अनुसार नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५,००० बराबरसम्मको विदेशी मुद्रा (भारु वा अन्य मुद्रा) भन्सार घोषणाविना नेपाल भित्र्याउन वा बाहिर लैजान सक्नेछन् । तर, यो सीमाभन्दा बढी रकम भएमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था छ । विशेषगरी भारुको हकमा नियम भारतसँगको यात्रामा मात्र लागू हुनेछ ।

राष्ट्र बैंकले नेपाली नागरिकले भारतबाहेक अन्य देशमा भारु लैजान वा ती देशहरूबाट भारु नेपाल ल्याउन नपाइने स्पष्ट पारेको छ । नियमले नेपाल–भारतबाहेक अन्य देशसँगको आर्थिक कारोबारमा भारुको प्रयोगलाई नियन्त्रण गर्ने उद्देश्य राखेको छ । केन्द्रीय बैंकले सर्वसाधारणलाई यस्ता नियमहरूको पालना गर्न र गैरकानुनी कारोबारबाट बच्न सचेत रहन आग्रह गरेको छ ।

स्रोत : Yatradaily

Leave a Comment

सम्बन्धित खबर