पत्रकारमाथि प्रहरीको धरपकडप्रति :बाँके शाखाको गम्भीर ध्यानाकर्षण

संवाददाता
संवाददाता

काठमाडौँ। शुक्रबार साँझ काठमाडौँमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूमाथि प्रहरीले गरेको धरपकड, दुव्र्यवहार र नियन्त्रणमा लिने कार्यप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।

यस्तै महासंघ बाँके शाखाले जारी गरेको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक शासन व्यवस्थामा प्रेस स्वतन्त्रता राज्यको कृपाको विषय नभई संविधान प्रदत्त मौलिक अधिकार भएको उल्लेख गर्दै स्वतन्त्र प्रेसको आवाज दबाउने, पत्रकारलाई त्रसित बनाउने तथा समाचार संकलन र सम्प्रेषणको अधिकारमाथि अंकुश लगाउने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य, मान्यता र संविधानको मर्मविपरीत रहेको जनाइएको छ।

विज्ञप्तिमा पत्रकारमाथि राज्यशक्तिको दुरुपयोग गर्दै गरिएको यस्तो बर्बर व्यवहारले सरकारको लोकतान्त्रिक प्रतिबद्धता र चरित्रमाथि नै गम्भीर प्रश्न खडा गरेको ठहर गरिएको छ। स्वतन्त्र पत्रकारिताको विश्वसनीयतामाथि आँच पुर्‍याउने, भ्रम सिर्जना गर्ने तथा पत्रकारलाई नै दोषी देखाउने प्रकृतिका घटनाक्रमप्रति राज्य गम्भीर हुन आवश्यक रहेको पनि महासंघले बताएको छ।

यसैगरी पछिल्लो घटनाको वास्तविकता के हो, पत्रकारमाथि धरपकड गर्नुको कारण के थियो र त्यसक्रममा कसले के भूमिका निर्वाह गर्‍यो भन्ने विषयमा निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन हुनुपर्ने माग गर्दै महासंघले घटनाको सत्यतथ्य सार्वजनिक गरी समग्र पत्रकारिता क्षेत्रलाई आश्वस्त पार्नु राज्यको दायित्व रहेको स्पष्ट पारेको छ।

राज्यका जिम्मेवार निकायहरूले एकअर्कामाथि जिम्मेवारी पन्छाउने, घटनाबारे अनभिज्ञता प्रकट गर्ने वा गम्भीर विषयलाई सामान्यीकरण गर्दै नजरअन्दाज गर्ने प्रवृत्ति कदापि स्वीकार्य नहुने उल्लेख गर्दै महासंघले पत्रकारमाथि भएको धरपकडलाई सामान्य प्रशासनिक घटनाका रूपमा व्याख्या गरेर उम्कने छुट कसैलाई नभएको जनाएको छ। दोषीमाथि कारबाही र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने ठोस प्रतिबद्धता आवश्यक रहेको महासंघको भनाइ छ।

नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकारमाथिको आक्रमण केवल व्यक्तिमाथिको आक्रमण नभई नागरिकको सुसूचित हुने अधिकार र लोकतन्त्रको आधार स्तम्भ मानिने स्वतन्त्र प्रेसमाथिकै आक्रमण भएको स्पष्ट पारेको छ। प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा महासंघ सदैव दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक परे प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि हुने हरेक आन्दोलन र संघर्षमा शाखाको सक्रिय सहभागिता र ऐक्यबद्धता रहने जनाएको छ।

Leave a Comment

सम्बन्धित खबर