
अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी तथा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय यस्ता गतिविधि बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

मन्त्रालयका अनुसार केही व्यक्तिहरूले अस्पताल परिसरमा स्वीकृति विना प्रवेश गरी बिरामी तथा स्वास्थ्यकर्मीको फोटो-भिडियो खिच्ने, अन्तर्वार्ताको नाममा भीडभाड गर्ने तथा उपचारमा खटिएका चिकित्सक र कर्मचारीको काममा अवरोध पुर्याउने गरेको गुनासो प्राप्त भएको छ। यस्तो कार्यले बिरामीको गोपनीयतामाथि आघात पुग्नुका साथै उपचार प्रक्रियामा नै नकारात्मक असर परेको मन्त्रालयले जनाएको छ।
विज्ञप्तिमा अस्पताल जस्तो संवेदनशील क्षेत्रमा अनुमति बिना भिडियो बनाउने, स्वास्थ्यकर्मीमाथि अमर्यादित व्यवहार गर्ने वा अनुचित दबाब दिने कार्य प्रचलित कानुनको ठाडो उल्लङ्घन भएको उल्लेख छ। ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ को दफा ३ ले उपचारमा बाधा पुर्याउन नपाइने स्पष्ट व्यवस्था गरेको र सोही दफामा स्वास्थ्यकर्मीमाथि हातपात, धम्की, गालीगलौज वा अपमानजनक व्यवहार गर्न निषेध गरिएको मन्त्रालयले स्मरण गराएको छ।
त्यस्तै मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ अनुसार अनुमति बिना कसैको तस्बिर खिच्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले अस्पताल परिसरभित्र सम्बन्धित संस्थाको अनुमति बिना फोटो वा भिडियो नखिच्न तथा प्रकाशन/प्रसारण नगर्न आग्रह गरेको छ।
मन्त्रालयले यस्ता गतिविधि नियन्त्रणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई समेत जानकारी गराइसकेको जनाएको छ। सूचनाको बेवास्ता गरी कानुन विपरीतका कार्य गरे/गराएमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ। उपचारका क्रममा कुनै कमजोरी भएको महसुस भएमा सम्बन्धित निकायमा उजुरी गरी तथ्यपरक छानबिन गराउने व्यवस्था रहेको भन्दै मन्त्रालयले कानुनी बाटो अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
स्रोत : अन्नपूर्ण
