
ध्रुवराज शर्मा त्रिगुणायत :-

नेपालगन्ज , ४ वैशाख । वैशाख महिनाको अमावस्या तिथिलाई धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । यो दिनलाई नेपालको तराईका विभिन्न क्षेत्रमा ‘सतुवाई अमावस्या’ भनेर पनि चिनिन्छ ।
लोकजनविश्वास अनुसार यस दिन स्नान, दान र पितृ तर्पणका साथै सत्तूको विशेष उपयोगले यसलाई अन्य अमावस्याहरूभन्दा फरक बनाउँछ । गर्मीको चरममा सत्तूको शीतल प्रकृतिले शरीरलाई ठण्डा बनाउने र पुण्य कमाउने विश्वासले यो परम्परा जीवित छ ।
किन भनिन्छ सतुवाई अमावस्या ?
लोकमान्यता अनुसार वैशाख महिनामा प्रचण्ड गर्मी हुन्छ । सत्तू (चनेको आटा) को स्वभाव शीतल हुने भएकाले यस दिन सत्तू खाने र दान गर्ने प्रथा सुरु गरियो । यसले शरीरलाई शीतलता प्रदान गर्छ र पितृहरूलाई तृप्त पार्छ भन्ने जनविश्वास छ । सत्तूलाई ‘दरिद्रको भोजन’ पनि भनिन्छ, जसको दानले अहंकार नाश हुन्छ र जीवनमा सुख–शान्ति आउँछ ।
।
पौराणिक महत्व र कथा :
जनश्रुतिअनुसार वैशाख अमावस्याकै दिन त्रेता युगको आरम्भ भएको थियो । यस दिन जलभरिएको घडा, सत्तू, गुड र मौसमी फलको दान गर्दा अक्षय पुण्य मिल्ने र पितृहरूको आत्मा सीधै तृप्त हुने विश्वास गरिन्छ । भगवान विष्णुका अवतारहरूको पूजा गर्दा सत्तूको भोग लगाउने प्रथा पनि छ ।

एउटा प्राचीन कथा यसरी प्रचलित छ : प्राचीन कालमा धर्मवर्ण नामका एक ब्राह्मण थिए । उनी जीवनभर वेद अध्ययन र परोपकारमा लागेका थिए । एक पटक उनी त्यस्तो ठाउँमा पुगे जहाँ उनका पितृहरू कष्टमा थिए । पितृहरूले उनलाई भने, “हाम्रो मुक्ति तभी सम्भव छ जब तिमी वैशाख अमावस्याको दिन विधिपूर्वक दान र तर्पण गर्छौ ।”

पितृहरूको आज्ञा शिरोपर गर्दै धर्मवर्णले त्यस दिन व्रत बसे । प्रचण्ड गर्मीमा प्यास लागेका मानिसहरूलाई पानीका घडा भरिदिए । सत्तू, गुड र फलको दान गरे । यसको प्रभावले उनका पितृहरू मुक्त भए । त्यसपछि नै यो दिन सत्तू दान र सेवनको परम्परा सुरु भएको लोकजनविश्वास छ ।
कसरी मनाउने सतुवाई अमावस्या ?
लोकपरम्परा अनुसार यो दिन निम्न विधिबाट मनाइन्छ :
• बिहान पवित्र नदी वा किनारमा स्नान गरेर सूर्य देवलाई जल अर्पण गर्नुहोस् ।
• माटाको घडामा पानी भरेर माथि सत्तू राखी ब्राह्मण वा गरिबलाई दान गर्नुहोस् ।
• पितृहरूको नाममा सत्तू र तिलको तर्पण गर्नुहोस् । यसले पितृ दोषबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।

यस्तै यो दिन गरिने दानले पितृहरूको आत्मा शान्ति पाउँछन् र दातालाई असीम पुण्य प्राप्त हुन्छ भन्ने लोकमान्यता छ ।

नेपालको तराईका हिन्दु समाजमा अमावस्या सत्तू दान र पितृ पूजासँग जोडिएर मनाइन्छ । गर्मी बढ्दै गएको वर्तमान समयमा यो परम्पराले स्वास्थ्य र धार्मिक दुवै दृष्टिले महत्व राख्छ । सतुवाई अमावस्या मनाउनेहरूले शरीर र आत्मा दुवैलाई शीतलता प्रदान गर्ने यो अवसरलाई सदुपयोग गर्न सक्छन् ।
