
नेपालगञ्ज — ३ बैशाख – उपमहानगरपालिका नेपालगञ्जको मुख्य व्यापारिक केन्द्र त्रिभुवन चोक अहिले ठेला पसलहरूको कब्जामा परेको छ । व्यस्त चोकको मुख्य भाग र मोड नै ठेला व्यवसायीहरूले घेरेर बेचबिखन गरिरहेका छन् ।



नजिकै प्रहरी बिट रहे पनि प्रहरीको मौनताका कारण ठेलाहरूले सडकको मोड समेत कब्जा गरेका छन् । यसले गर्दा सवारी साधनहरूको आवागमनमा ठूलो अवरोध सिर्जना भएको छ ।
त्रिभुवन चोक दिनभरि अत्यन्त व्यस्त रहने क्षेत्र हो । यहाँ स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म पैदल हिँड्ने गर्छन् भने मोटरसाइकल, कार, रिक्सा लगायत विभिन्न सवारी साधनहरू गुडिरहन्छन् । ठेलाहरूले सडकको ठूलो भाग ओगटेका कारण पैदलयात्री र सवारीबीचको दूरी निकै घटेको छ । जसले दुर्घटनाको जोखिम निकै बढाएको स्थानीय सन्तोष पाठकले बताए।

“बच्चाहरू स्कूल आउजान गर्दा, वृद्धहरू बजार गर्दा र सामान्य सवारी चलाउँदा पनि डर लाग्छ,” विशालले भने, “ठेला राखिएका ठाउँमा मोड लिन गाह्रो हुन्छ, ब्रेक नलागे दुर्घटना हुन सक्छ ।”

यसैगरी यो क्षेत्रमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षा मुख्य चुनौती बनेको छ । ट्राफिक प्रहरी, नेपालगञ्ज उपमहानगरपालिका र स्थानीय प्रशासनले समयमै ध्यान दिएर ठेला पसलहरूलाई व्यवस्थित गर्न वा हटाउन आवश्यक रहेको स्थानीयहरुको भनाइ छ ।


यस्तै तत्काल कदम नचालिएमा जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेको स्थानीय विक्की बैश्यले भने। सडक कब्जा हटाएर चोकलाई व्यवस्थित बनाउनुपर्ने स्थानीयहरुको भनाइ छ।
