
नेपालगञ्ज, बाँके – जिल्ला प्रशासन कार्यालय, बाँकेले हिन्दु धर्मावलम्बीहरूको महान चाड शुभ–दीपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वको अवसरमा समस्त जिल्लावासीहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेको छ। कात्तिक ०२ मा जारी गरिएको सार्वजनिक सूचनामा चाडपर्वलाई मौलिक संस्कृतिको रूपमा मर्यादित र व्यवस्थित तरिकाले मनाउन विशेष अनुरोध गरिएको छ।


सूचनामा चाडपर्वको समयमा विभिन्न सावधानी र मर्यादा अपनाउनुपर्ने विषयहरू उल्लेख गरिएको छ। मुख्य बुँदाहरू निम्नानुसार छन्:
आगलागीबाट सावधानी: दीपावलीमा मैनबत्ती र बिजुलीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। आतिशबाजी, पटाका, भुइँचम्पा वा अन्य विस्फोटक पदार्थको खरिद–बिक्री, ढुवानी, भण्डारण र प्रयोग पूर्णरूपमा निषेध गरिएको छ।
देउँसी–भैलोमा मर्यादा: देउँसी–भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित र व्यवस्थित रूपमा राति ९:३० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरिएको छ। यस्ता कार्यक्रमले कसैको गुनासो नआउने गरी सञ्चालन गर्नुपर्ने र सार्वजनिक सडकमा अवरोध हुने गरी नखेल्न निर्देशन दिइएको छ।
सुरक्षा र सतर्कता: चाडपर्वको समयमा घर–निवासमा चोरीको सम्भावना रहने भएकाले सतर्क रहन, घर छोड्दा छिमेकीलाई जानकारी दिन र शंकास्पद व्यक्तिहरू देखिएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
सामाजिक सद्भाव कायम: धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न/नगराउन सूचनामा जोड दिइएको छ।
उपभोक्ता हित संरक्षण: अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यवृद्धि वा म्याद नाघेका वस्तु बिक्री–वितरण गर्ने कार्य नगर्न निर्देशन दिइएको छ।
ट्राफिक नियम पालना: सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको भाडादरभन्दा बढी नलिने र ट्राफिक नियमको पालना गर्न आग्रह गरिएको छ।
गैरकानूनी गतिविधिमा रोक: चिठ्ठा, जुवातास, अनलाइन सपिङको नाममा हुने अवैध कारोबार र विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्न र कानुनविपरीतका गतिविधि नगर्न सचेत गराइएको छ।
सूचनामा उल्लिखित नियमहरू उल्लंघन गर्ने व्यक्तिहरूको हकमा नजिकको प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज (९८५१२८२६०२) वा जिल्ला प्रशासन कार्यालय, नेपालगञ्ज (९८५८०२०१८८) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

यो सूचना जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु साहनीद्वारा हस्ताक्षरित छ। चाडपर्वलाई सुरक्षित, मर्यादित र हर्षोल्लासमय बनाउन सबै जिल्लावासीमा सहयोगको अपिल गरिएको छ।
