जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट्स क्लब लाठी समितिको, लाठी प्रशिक्षण जारी

संवाददाता
संवाददाता

नेपालगन्ज, बाँके, भदौ १०, २०८२ – नेपालको तराई क्षेत्रमा लोकप्रिय परम्परागत मार्शल आर्ट ‘लाठी खेल’ को संरक्षण र प्रवर्द्धनका लागि जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट्स क्लब लाठी समिति नेपालगन्ज बाँकेले दशैंअघि विशेष प्रशिक्षण कार्यक्रम जारी रहेको छ। यसक्रममा भदौ १० गते मङ्गलबार पनि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ को कठमहलिया मठमा खेल प्रशिक्षण जारी रह्यो।

प्रशिक्षक सुरेन्द्र सिंह बाडियाले दिएको जानकारीअनुसार, यो खेललाई शारीरिक कौशल, आत्मरक्षा तथा सांस्कृतिक पहिचानको प्रतीक मानिन्छ। लाठी खेलमा लाठीलाई कुशलतापूर्वक चलाउने, आक्रमण र बचाउ गर्ने तथा विभिन्न शारीरिक चालहरू प्रदर्शन गर्ने कला समावेश हुन्छ। यसले सहभागीहरूलाई शारीरिक तन्दुरुस्ती, सन्तुलन, एकाग्रता र रणनीतिक सोचको विकास गर्छ। विशेष गरी युवाहरूलाई आफ्नो संस्कृतिसँग जोड्न यो खेलले महत्त्वपूर्ण भूमिका खेल्छ। चाडपर्व र मेलाहरूमा आयोजना हुने लाठी खेल प्रदर्शनले सामुदायिक एकता र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्छ।

प्रशिक्षण कार्यक्रममा बाँकेका विभिन्न स्थानहरू जस्तै जोगा गाउँ, थुकैला, गुरुवा गाउँ, खजुरा, धम्बोझी लगायतका स्थानीय ३५ जना किशोरहरू सहभागी भएका छन्। जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट्स क्लब लाठी समितिका अध्यक्ष गौरव कनोजियाले बताएअनुसार, यो कार्यक्रमले युवाहरूको ऊर्जालाई सकारात्मक दिशातर्फ मोड्न मद्दत गर्दैछ।

प्रशिक्षणको क्रममा समितिका सदस्य विजय कुमार पाठक, गौरव कनौजिया, सुरेन्द्र सिंह बाडिया (प्रशिक्षक), दुर्गेश वंशकार (सचिव) र बुलबुल कसौंधन (कोषाध्यक्ष) लगायतको उपस्थिति रहने गरेको उनीले उल्लेख गरे।

Leave a Comment

सम्बन्धित खबर