बाँके प्रहरीद्वारा ठूलो मात्रामा भन्सार छलीका सामान, अवैध कुखुरा बरामद, ४ जना फरार प्रतिवादी पक्राउ

संवाददाता
संवाददाता

नेपालगञ्ज, १५ वैशाख २०८३ — जिल्ला प्रहरी कार्यालय बाँकेले एकै दिन दुई ठूला कारबाही गरेको छ। प्रहरीले भन्सार छली गरी तस्करी गरिएका विभिन्न सामान र अवैध रूपमा भारतबाट ल्याइएका बोइलर कुखुरा बरामद गरेको हो भने विभिन्न मुद्दामा फरार रहेका ४ जनालाई पनि पक्राउ गरेको छ।

यस्तै भन्सार छलीका सामान बरामद बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० आदर्शनगरबाट प्रहरी टोलीले भन्सार छली गरी ल्याइएका फलफूल, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, माउन्टेन ड्यू, कोक पेय पदार्थलगायतका सामान तथा ढुवानीमा प्रयोग भएको अटो रिक्सा नियन्त्रणमा लिएको छ।

बरामद सामानको कुल अन्दाजी मूल्य रु. ७ लाख ४४ हजार ३ सय ४० रहेको प्रहरीले जनाएको छ। उक्त सामानहरूलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको छ।

सोही दिन अवैध बोइलर कुखुरा बरामद नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाहबाट प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएका ७८ वटा बोइलर कुखुरा (अन्दाजी २३४ किलोग्राम) नियन्त्रणमा लिएको छ।


यी कुखुरालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज, बाँके मा बुझाइएको छ।

यसैगरी फरार रहेका प्रतिवादीहरुलाइ पक्राउ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले फरार प्रतिवादी पक्राउ विशेष अपरेसन अन्तर्गत बाँकेका विभिन्न स्थानबाट विभिन्न मुद्दामा लुकिछिपी बसेका ४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि बाँके जिल्ला अदालतमा पेश गरिएको छ।


जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको प्रेस विज्ञप्तिमा यी कारबाहीहरूले अवैध तस्करी र फरार अपराधीहरूमाथि प्रहरीको सक्रियता देखाएको छ। प्रहरीले सीमा क्षेत्रमा तस्करी नियन्त्रण र कानुन उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्न निरन्तर प्रयासरत रहेको जनाएको छ।

Leave a Comment

सम्बन्धित खबर