
तेजेन्द्र के. सी.

बाँकेको नेपालगन्जमा चैत १४ गते राति जलेर मृत्यु भएकी सिर्जना बुढामगरको घटनामा प्रहरीले थप अनुसन्धानका लागि सामग्रीहरू काठमाडौंस्थित प्रहरी विधि प्रयोगशालामा पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातलीका अनुसार मृतक सिर्जना र उनका प्रेमी आरिफ ढपालीको मोबाइल फोनलगायत सामग्री ल्याब परीक्षणका लागि पठाइएको हो । परीक्षण प्रतिवेदन आएपछि अनुसन्धानमा थप सहयोग पुग्ने प्रहरीलाई आशा छ ।
बाँकेको नेपालगन्ज–१२ कोरियनपुरमा जलेको अवस्थामा भेटिएकी सिर्जनाको शव हालसम्म पनि भेरी अस्पतालमै छ ।
मृतकका आफन्तले सिर्जनामाथि पेट्रोल छर्किएर हत्या गरिएको आरोप लगाउँदै दोषीमाथि कडा कारबाहीको माग गर्दै आएका छन् । यही कारण उनीहरूले अहिलेसम्म शव बुझ्न मानेका छैनन् । प्रहरीका अनुसार घटनाबारे हत्या वा अन्य कारण के हो भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।
डीएसपी पातलीले प्रमाण र तथ्यका आधारमा अनुसन्धान अगाडि बढाइएको र कुनै दबाब वा प्रभावमा नपर्ने स्पष्ट पारे । मृत्यु भएको १० दिन बितिसक्दा पनि आफन्तले न्यायको माग गर्दै शव बुझ्न अस्वीकार गरिरहेका छन् भने घटनाले स्थानीयस्तरमा चासो बढाएको छ ।
नेपालगन्जमा चैत १४ गते राति कोरियनपुरमा जलेको अवस्थामा सिर्जनाको शव भेटिएको थियो । प्रहरीले पक्राउ परेका अभियुक्तहरूमाथि तेस्रो पटक म्याद थप गर्ने तयारी गरेको जनाएको छ । प्रहरीका अनुसार चैत १४ गते राति करिब १२ बजे आगोले जलेको अवस्थामा भेटिएकी सिर्जनालाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो । तर चैत १५ गते बिहान १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । पोस्टमार्टम रिपोर्टमा पेट्रोल छर्किएर जलाइएको उल्लेख गरिएको छ ।
नेपालगन्ज–८ रानीतलाउमा डेरा गरी बस्दै आएकी सिर्जनाको शरीर उनीसँग लिभिङ टुगेदरमा बस्दै आएका आरिफ ढपालीको घरबाट करिब ५० मिटर टाढा भेटिएको थियो । प्रारम्भमा शवको पहिचान गर्न कठिनाइ भएको प्रहरीले जनाएको थियो । मृतकका आफन्तहरूले सिर्जनाको हत्या प्रेमी आरिफले नै गरेको आरोप लगाएका छन् ।
उनीहरूबिचको सम्बन्ध लामो समयदेखि खटपटपूर्ण रहेको बताइएको छ । घटनाको अघिल्लो दिन पनि कुटपिट भएपछि प्रहरीले नियन्त्रणमा लिएर मिलापत्र गराएको थियो । तर सोही राति उक्त घटना भएको थियो ।
घटनापछि आक्रोशित आफन्तहरूले आरोपितको घरमा आक्रमण गर्ने प्रयाससमेत गरेका थिए । आफन्तले आरिफसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
घटनापछि भारत फरार भएका आरिफ पक्राउ परिसकेका छन् । उनीसँगै उनकी आमा, दिदी र एक नाबालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । अन्य दुई फरार व्यक्तिको भने खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
डीएसपी पातलीका अनुसार हालसम्म अभियुक्तको म्याद दुई पटक थप भइसकेको छ र चैत २७ गते तेस्रो पटक म्याद थपको तयारी भइरहेको छ । उनले भने, ‘पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान जारी छ ।अनुसन्धान पूरा भएपछि मात्रै विस्तृत तथ्य सार्वजनिक गर्न सकिन्छ ।’
प्रदेश सभादेखि सडकसम्म दोषीलाई कारबाही माग
सिर्जनाको मृत्यु प्रकरणले यतिबेला प्रदेशसभा र सडक दुवै तातेको छ । घटनालाई लिएर लुम्बिनी प्रदेश सभामा सांसदहरूले कडा रूपमा आवाज उठाएका छन् भने सर्वसाधारण र अधिकारकर्मीहरूले पनि दोषीमाथि कडा कारवाहीको माग गरिरहेका छन् ।
प्रदेश सभा बैठकमा सांसद सुशीला वादीले सिर्जनामाथि पेट्रोल छरेर जलाइएको घटनालाई अत्यन्तै जघन्य र अमानवीय भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । उनले महिला हिंसा नियन्त्रणमा कुनै पनि किसिमको ढिलासुस्ती हुन नहुने बताउँदै दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिइन् ।
यसअघि बसेको बैठकमा पनि सांसदहरूले उक्त घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद अम्बिका काफ्लेले यस्ता घटनालाई रोक्न कानुन संशोधन गरी अझ कडा सजायको व्यवस्था गर्नुपर्ने माग राखिन् ।
उनले महिला हिंसा न्यूनीकरणका लागि मृत्युदण्डसम्मको कानुनी व्यवस्था आवश्यक भएको धारणा व्यक्त गरिन् ।
त्यसैगरी सांसद चन्द्रकेश गुप्ताले पनि यस्ता जघन्य अपराध रोक्न सरकार थप जिम्मेवार बन्नुपर्ने बताए ।
नेपालगन्जमा सिर्जनाका आफन्त,अधिकारकर्मी तथा स्थानीयले दोषीलाईकडा कारवाहीको माग गर्दै पटक–पटक आन्दोलन गर्दै आएका छन् । उनीहरूले घटनामा संलग्न व्यक्ति सिर्जनाका प्रेमी रहेको दाबी गर्दै निष्पक्ष छानबिन र कठोर सजायको माग सार्वजनिक रूपमा उठाउँदै आएका छन् ।
स्रोत : रातोपाटी
