बिचौलिया भन्दै प्रहरीले पक्रिएपछि लेखापढी व्यवसायी आन्दोलित, अनिश्चितकालिन ‘पेनडाउन’

संवाददाता
संवाददाता

काठमाडौँ: नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन पाटन इकाई समितिले आफ्ना व्यवसायीमाथि धरकपड भएको भन्दै आन्दोलनको घोषणा गरेको छ। समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अनिश्चितकालिन ‘पेनडाउन’को घोषणा गरेको छ।

भू-सेवा केन्द्र सञ्चालक लेखापढी व्यवसायीहरुलाई कानुन बमोजिम पेसा व्यवसाय गर्ने क्रममा बिनाआधार र कारण आइतबार भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरको प्राङ्गणबाट प्रहरीले धरकपड गरेको भन्दै समितिले आन्दोलन घोषणा गरेको हो। सेवाग्राहीसहित कर्मचारीलाई गिरफ्तार गरी प्रहरी परिसर जावलाखेल पुर्‍याइएको थियो।

कानुनअनुसार प्रमाणपत्र प्राप्त लेखापढी व्यवसायीलाई बिचौलियाको संज्ञा दिई कार्यालय प्रवेशमै रोक लगाउनु पेशागत अधिकारमाथिको हस्तक्षेप भएको समितिको भनाइ छ।

समितिका सचिव भरत घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिमा भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुर परिसरबाट लेखापढी व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति खेद व्यक्त गरिएको छ। उनीहरूले यस्तो कार्यले पेशागत मर्यादा र संवैधानिक अधिकारमा आघात पुगेको बताएका छन्।

विज्ञाप्तिमा भनिएको छ, ‘नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० र लेखापढी व्यवसायी सम्बन्धी नियमावली २०५१ अन्तर्गत अदालतबाट प्रमाणपत्र प्राप्त गरी हामीले सेवा दिँदै आएका छौँ । साथै भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशिका २०७६ बमोजिम भू–सेवा केन्द्र सञ्चालन गरिरहेका व्यवसायीलाई बिचौलिया भन्नु सरासर गलत र अपमानजनक छ ।’

आफ्ना माग सम्बोधन नभएसम्म सम्पूर्ण लेखापढी व्यवसायी तथा भू–सेवा सञ्चालकहरूलाई कलम बन्द र सेवा ठप्प पार्ने आन्दोलन मा उत्रिन समेत आह्वान गरिएको छ। साथै, समितिको निर्णयविपरीत सेवा सञ्चालन गर्ने सदस्यलाई कारबाही गरिने चेतावनी पनि दिइएको छ।

आइतबार प्रहरीले नियन्त्रणमा लिएका लेखापढी व्यवसायी छुटिसकेका छन्।

Leave a Comment

सम्बन्धित खबर