
राजविराज,२१ चैत ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कृषि शाखामा कार्यरत एक कर्मचारी लागूऔषधसहित पक्राउ परेका छन् । छिन्नमस्ता गाउँपालिका ३ बस्ने ३१ बर्षका कृषि शाखाका कर्मचारी सुरेन्द्र शर्मा र रुपनी गाउँपालिका ३ बस्ने बर्ष १८ का बिक्रम कुमार मण्डल पक्राउ परेका हुन् ।
भारतबाट नेपालतर्फ आउँदै गर्दा विभिन्न लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनएको छ। पक्राउ पर्ने शर्मा छिन्नमस्ता गाउँपालिकाको कृषि शाखामा कार्यरत रहेको श्रोतबाट खुलेको छ ।
उनीहरूको साथबाट १० एम्पुल क्रेक्स डीएक्स १ बाेतल, फेनारगन २ एमएलकाे ९ एम्पुल, एपुलल जेरिस ११ एम्पुल, गाँजा २५ ग्राम र सिरिन्ज एक थान बरामद भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।
उनीहरूलाई सशस्त्र प्रहरीको टोलीले राजगढ गाउँपालिका २ बनैनियाबाट नियन्त्रणमा लिएको प्रवक्ता डीएसपी पुरीले बताए । उनीहरुमाथि लागू औषध कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाइएकोको उनले जानकारी दिए ।
