
शिवराज साहू : १८ चैत २०८२ बुधबार

नेपालगंज : जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास नेपालगंजका एक विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै पूर्वमेयर एवं वरिष्ठ अधिवक्ता विजय गुप्ताले २५ हजार रुपैयाँको चेक प्रदान गर्नुभएको छ ।
जनजाति कल्याण आश्रम नेपाल बाँकेकी अध्यक्ष कृष्णा देवी पाण्डेले पूर्वमेयर गुप्ताप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले विद्यार्थीको अभिभावकत्व ग्रहण र आर्थिक सहयोगले छात्रावासका विद्यार्थीहरूको पढाइमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।
यसैगरी नेपालगंज वडा नं. १७ र जानकी गाउँपालिका–१ का इन्चार्ज वरिष्ठ सई मोहन बमले छात्रावासको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले विद्यार्थीहरूलाई थप उत्साह प्रदान गर्दै आशीर्वाद दिनुभएको थियो ।
छात्रावास भ्रमणमा आएका वरिष्ठ सई मोहन बमप्रति पनि अध्यक्ष कृष्णा देवी पाण्डेले हृदयदेखि नै धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले सामाजिक कार्यमा सधैं सहयोग गर्दै आउनुभएको भन्दै मोहन बमको यस किसिमको भ्रमणले छात्रावासका विद्यार्थीहरूमा नयाँ ऊर्जा भर्ने बताउनुभयो ।
जनजाति कल्याण आश्रम नेपालले सञ्चालन गरेको आमाको माया छात्रावासमा विपन्न तथा जनजाति समुदायका विद्यार्थीहरूको निःशुल्क आवास, भोजन र पढाइको व्यवस्था गरिएको छ ।

