
शिवराज साहू

नेपालगञ्ज, १४ चैत्र – साहू समाज जिल्ला कार्य समिति र साहू समाज युवा समितिले चैते दशैं तथा श्रीराम नवमी (श्रीराम जन्मोत्सव) को अवसरमा त्रिभुवन चोकस्थित श्री शिव मन्दिर (बालाजी) को अगाडि बृहत भण्डारा आयोजना गरेका छन् ।

साहू समाज जिल्ला कार्य समिति पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा युवा समितिको समन्वयमा आयोजित उक्त भण्डारामा प्रसाद वितरण कार्यक्रम शुक्रबार दिउँसो १२ बजे देखि त्रिभुवन चोकमा सुरु भएको थियो ।

साहू समाज जिल्ला कार्य समितिका अध्यक्ष हंसराम साहूले भण्डारा कार्यक्रमको बारेमा जानकारी दिँदै भने, “श्रीराम नवमीको पावन अवसरमा समाजले बृहत भण्डारा गरेको हो । यसमा जिल्ला कार्य समिति र युवा समितिको सहकार्य रहेको छ ।” उनले श्रीराम नवमीको हार्दिक मंगलमय शुभकामना दिँदै नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण देशवासीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना पनि व्यक्त गरे ।

साहू समाज युवा समितिका अध्यक्ष राम किसुन साहूले कार्यक्रमको समन्वय गर्दै भने, “भण्डारा तथा प्रसाद वितरण कार्यक्रम शुक्रबार १२ बजे देखि निरन्तर चलेको छ । समाजका सबै सदस्य तथा स्थानीयवासीहरूलाई भण्डारामा सहभागी हुन आह्वान गर्दछौं ।”

यसैगरी, नेपालगञ्ज–५ फुल्टेक्रास्थित श्री राधाकृष्ण मन्दिर एवं धर्मशालाले विगत दशकदेखि चैतको रामनवमीको अवसरमा भण्डारा कार्यक्रमलाई निरन्तरता दिँदै आएको अध्यक्ष हंसराम साहूले बताए । उनले यस परम्परालाई कायम राख्न समाजले निरन्तर सहयोग गर्दै आएको पनि स्पष्ट पारे ।
भण्डारा कार्यक्रममा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
