अवैध क्रिप्टो धन्दा चलाउने मुख्य योजनाकार भारतीयसहित २ नेपाली पक्राउ, देखियो १ अर्ब ३६ करोडको कारोबार

संवाददाता
संवाददाता

काठमाडौँ । नेपालमा बसेर अवैध हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरेको आरोपमा एक भारतीय नागरिकलाई नेपाल प्रहरीले दुई नेपाली सहयोगीसहित पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई १५ लाख ३० हजार नगदसहित नियन्त्रणमा लिएको हो ।

सांकेतिक तस्बिर

टेकु प्रहरीका अनुसार भारतीय नागरिक प्रवेश अलीले नेपाली नागरिकलाई प्रयोग गरी ‘बाइनान्स’ एपमार्फत करिब एक अर्ब ३६ करोड रुपैयाँ बराबरको अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गोप्य सूचनाका आधारमा प्रहरीले सुरुमा दिउँसो २:३० बजे काठमाडौंको सामाखुसीबाट बाँके घर भएका ३१ वर्षीय नेपाली नागरिक नरेश रेउलेलाई नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा रेउलेले आफूले भारतीय नागरिक प्रवेश अली र अर्की नेपाली नागरिक दिसी पोखरेलका लागि ‘युएसडीटी’ खरिदबिक्री गरिदिने गरेको खुलासा गरेका थिए ।

नेपाली सहयोगी रेउलेको बयानका आधारमा प्रहरीले सामाखुसीको रेडहनपुल क्षेत्रबाट सर्लाही घर भएकी ३० वर्षीया दिसी पोखरेललाई १५ लाख ३० हजार नगदसहित सोही दिन दिउँसो ४:३० बजे पक्राउ गर्‍यो । दुवै नेपाली सहयोगी पक्राउ परेपछि उनीहरूकै सूचनाका आधारमा यस अवैध धन्दाका मुख्य कारोबारी मानिएका ४१ वर्षीय भारतीय नागरिक प्रवेश अलीलाई साँझ ७:०० बजे ललितपुरको एकान्तकुनाबाट प्रहरीले पक्राउ गरेको हो । टेकु प्रहरीका अनुसार भारतको पश्चिम बंगाल (मोदिनीपुर) घर भएका अली हाल एकान्तकुनामै बस्दै आएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा भारतीय नागरिक अलीले आफ्नो मोबाइलबाट हालसम्म ९१ लाख ८१ हजार ५१३ युएसडीटी (करिब एक अर्ब ३६ करोड ८० लाख ४५ हजार ५८० नेपाली रुपैयाँ) बराबरको अवैध कारोबार गरेको देखिएको छ । उनले नेपाली नागरिकहरूलाई अगाडि सारेर नेपालभित्रैबाट यति ठुलो परिमाणको क्रिप्टो र हुण्डीको धन्दा चलाइरहेको खुलेको हो ।

पक्राउ परेका भारतीय नागरिक अली तथा नेपाली नागरिक रेउले र पोखरेलको साथबाट प्रहरीले दसी प्रमाणका रूपमा नगद १५ लाख ३० हजार रुपैयाँ र विभिन्न कम्पनीका ४ थान मोबाइल सेट बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।

स्रोत : ट्चपाना

Leave a Comment

सम्बन्धित खबर