
काठमाडौँ । अहिले बजारमा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धिको चर्को समस्याले उपभोक्ताहरू मर्कामा परेका छन् । नेपाल आयल निगमले ग्यास आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरिरहँदा केही बिक्रेताहरूले प्रतिसिलिन्डर २ हजार ५ सय रुपैयाँसम्म ग्यास बिक्री गरिरहेको पाइएको छ । निगमले तोकेको प्रतिसिलिन्डर मूल्य भने १९१० रुपैयाँ हो ।

पछिल्लो समय मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावको चर्चा चलिरहे पनि नेपालमा भने यसको प्रत्यक्ष असर आपूर्तिमा नदेखिएको उद्योगी तथा सरकारी निकायको भनाइ छ । तर, बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी फस्टाएको गुनासो बढेको छ ।
एलपी ग्यास उद्योगी शिवप्रसाद घिमिरेले बजारमा खाना पकाउने ग्यासको कुनै अभाव नरहेको स्पष्ट पारेका छन् । ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिबारे घिमिरेले बजारमा हल्ला भएजस्तो ग्यासको संकट नरहेको दाबी गरे ।
भारतमा ग्यासको संकट सुरु भएको चर्चा चलिरहँदा नेपालमा त्यसको प्रभाव अहिलेसम्म नपरेको उनको भनाइ छ । घिमिरेले भने,‘अहिलेसम्म आपूर्तिमा कुनै समस्या आएको छैन, नियमित रूपमा ग्यास आइरहेको छ ।’ उनले सामान्य अवस्थाको तुलनामा अहिले १० देखि १५ प्रतिशत बढी नै ग्यास आपूर्ति भइरहेको समेत जानकारी दिए ।
बजारमा ग्यास अभावको हल्ला फैलाएर उपभोक्तासँग महँगो मूल्य असुलिएको भन्ने गुनासोप्रति उनले त्यस्ता कालोबजारी गर्नेहरूलाई कडा कारबाही गर्न माग गरे । ‘यदि कसैले गलत रेटमा ग्यास बेचेको छ भने उसलाई कारबाही हुनुपर्छ,’ घिमिरेले भने, ‘सरकारले घाटा खाएर बेचिरहेको र उद्योगीले पनि कुनै गलत नगरेको अवस्थाबिच कसैले अभावको मौका छोपेर ठगी गर्छ भने अनुगमन गर्ने निकाय सक्रिय हुनुपर्छ ।’
उपभोक्ताको सहजताका लागि नेपाल आयल निगमको टेकुस्थित कम्पाउन्डमा विभिन्न ब्रान्डका ग्यासहरू उपलब्ध गराइएको घिमिरेले बताए । आपतकालीन अवस्थामा उपभोक्ताले त्यहाँबाट सहजै ग्यास लिन सक्ने व्यवस्था मिलाइएको छ । फरक ब्रान्डका सिलिन्डर साट्न नमिल्ने भए पनि, उपभोक्ताले आफूलाई चाहिएको ब्रान्डको ग्यासका लागि टेकुमा अनुरोध गरेमा मगाइदिने व्यवस्था रहेको उनले जानकारी दिए । घिमिरेले उपभोक्तालाई अनावश्यक हल्लाको पछि नलाग्न र ग्यासको नियमित आपूर्ति भइरहेकोमा ढुक्क हुन आग्रह गरेका छन् ।
ग्यासको अभाव नरहेको निगमको दाबी
नेपाल आयल निगमले मुलुकमा खाना पकाउने ग्यास (एलपीजी) को पर्याप्त आपूर्ति भइरहेको जनाएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले अभाव बजारमा माग अनुसार आपूर्ति भइरहेको र कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्य लिने बिक्रेतामाथि कडा निगरानी राख्न सुरु गरेको बताए ।
बजारमा केही बिक्रेताले ग्यासको अभाव देखाउँदै महँगो मूल्य असुल्ने गरेको गुनासो बढेपछि बढी मूल्य लिने बिक्रेतालाई कारबाही गर्ने अधिकार वाणिज्य विभागसँग रहेको र त्यसका लागि जानकारी गराइएको बताए ।
प्रवक्ता ठाकुरका अनुसार फागुन महिनाको २५ गतेसम्म मात्रै करिब ४३ हजार ५ सय मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको छ । ‘दैनिक १ हजार ५ सयदेखि २ हजार मेट्रिक टन ग्यास नियमित रूपमा आइरहेको छ, जुन हाम्रो माग धान्न पर्याप्त छ,’ उनले भने, ‘भारतबाट हुने आपूर्तिमा कुनै समस्या छैन र उपभोक्ताहरू आतङ्कित हुनुपर्ने अवस्था छैन ।’
घरायसी प्रयोजनमा ग्यास वितरण प्राथमिकता दिने
ठाकुरका अनुसार ग्यास वितरण प्रणालीलाई पारदर्शी बनाउन निगमले मंगलबार उद्योगी र बिक्रेताहरूलाई बोलाएर निर्देशन दिइएको छ । यसअनुसार अबदेखि ग्यास उद्योगीले कुन बिक्रेता (डिलर) लाई कति ग्यास पठाएको हो, त्यसको स्पष्ट रेकर्ड राख्नुपर्नेछ । त्यस्तै, बिक्रेताहरूले पनि कुन उपभोक्तालाई ग्यास बिक्री गरेको हो, उनीहरूको नाम र फोन नम्बरसहितको विवरण अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । प्रवक्ता ठाकुरले बिक्रेताले उद्योगबाट ग्यास प्राप्त गर्ने तर उपभोक्तालाई छैन भन्दै लुकाउने गरेको गुनासो आएकाले रेकर्ड राख्ने प्रणालीमा कडाइ गरिएको बताए ।
निगमले हालको अवस्थामा होटल तथा औद्योगिक प्रयोजनभन्दा ‘घरायसी प्रयोजन’ लाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ । ग्यासको मौज्दात (स्टक) नराख्न र आवश्यकताका आधारमा मात्र वितरण गर्न भनिएको छ ।
घरायसी प्रयोजनमा ग्यास वितरण प्राथमिकता दिने
ठाकुरका अनुसार ग्यास वितरण प्रणालीलाई पारदर्शी बनाउन निगमले मंगलबार उद्योगी र बिक्रेताहरूलाई बोलाएर निर्देशन दिइएको छ । यसअनुसार अबदेखि ग्यास उद्योगीले कुन बिक्रेता (डिलर) लाई कति ग्यास पठाएको हो, त्यसको स्पष्ट रेकर्ड राख्नुपर्नेछ । त्यस्तै, बिक्रेताहरूले पनि कुन उपभोक्तालाई ग्यास बिक्री गरेको हो, उनीहरूको नाम र फोन नम्बरसहितको विवरण अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । प्रवक्ता ठाकुरले बिक्रेताले उद्योगबाट ग्यास प्राप्त गर्ने तर उपभोक्तालाई छैन भन्दै लुकाउने गरेको गुनासो आएकाले रेकर्ड राख्ने प्रणालीमा कडाइ गरिएको बताए ।
निगमले हालको अवस्थामा होटल तथा औद्योगिक प्रयोजनभन्दा ‘घरायसी प्रयोजन’ लाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ । ग्यासको मौज्दात (स्टक) नराख्न र आवश्यकताका आधारमा मात्र वितरण गर्न भनिएको छ ।
ग्यासको आयातमा हुने परनिर्भरता कम गर्न र सम्भावित सास्तीबाट बच्न निगमले उपभोक्ताहरूलाई भान्सामा बिजुलीको प्रयोग बढाउन समेत आग्रह गरेको छ । मुलुकमा बिजुलीको उत्पादन पर्याप्त रहेको अवस्थामा विद्युतीय चुल्होको प्रयोगले ग्यासको मागलाई कम गर्ने र उपभोक्तालाई समेत आर्थिक रूपमा सहज हुने प्रवक्ता ठाकुरको भनाइ छ । निगमले बजारमा कसैले बढी मूल्य मागेमा वा ग्यास लुकाएमा तत्काल उजुरी गर्न समेत उपभोक्ताहरूलाई अपिल गरेको छ ।
बढी मूल्यमा ग्यास बेच्नेमाथि विभागको कडा निगरानी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सन्दर्भमा गुनासो नआएको जनाएको छ । तर गुनासो आए अनुगमन बढाउने विभागका निर्देशक नरहरि तिवारीको भनाइ छ ।
अहिले खाने तेल लगायतका खाद्यान्नमा मूल्य बढेको गुनासो आएको र विभागले खाद्यान्न बिक्रेताकहाँ अनुगमन गरिरहेको उनको भनाइ छ । बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न विभागले सक्रियता बढाएको जानकारी दिएका छन् ।
ग्यासको मूल्य बढेको सन्दर्भमा निर्देशक तिवारीले सरकारले तोकेको भन्दा बढी मूल्य लिनु गैरकानुनी भएको बताए । उनले उपभोक्ताहरूलाई प्रमाणसहित विभागमा आउन आग्रह समेत गरे । ‘ग्यासको मूल्य सरकारले तोक्ने विषय हो, कसैले आफूखुसी बढाउन पाउँदैन,’ तिवारीले भने, ‘बढी मूल्य लिइएको भए हामी अनुगमन टोली पठाउँछौँ । उपभोक्ताले पनि बढी मूल्य मागेको बिल वा अडियो प्रमाण उपलब्ध गराएमा हामी तत्काल कडा कारबाही गर्छौँ ।’
खाना पकाउने ग्यासको वितरण र आपूर्तिमा देखिएको समस्या समाधानका लागि विभागले नेपाल आयल निगमसँग समन्वय गरिरहेको छ । निर्देशक तिवारीका अनुसार विभागले निगमलाई आफ्नो संयन्त्रमार्फत वितरण प्रणाली चुस्त राख्न र बजारमा अनुगमन बढाउन निर्देशन दिएको छ । कृत्रिम अभाव सिर्जना गर्ने वा कार्टेलिङ गरी मूल्य बढाउनेलाई भने नछोड्ने उनले स्पष्ट पारे । विभागले अहिले बजार अनुगमनका लागि टोलीहरू खटाइसकेको र विशेषगरी ग्यास र तेलको मूल्यमा केन्द्रित भएर निरीक्षण भइरहेको जानकारी दिएको छ ।
स्रोत : रातोपाटी
