होलीमा उच्छृशृङ्खलता निषेध, निर्वाचन सुरक्षामा प्रशासनको कडाइ

संवाददाता
संवाददाता

कञ्चनपुर । असान्न प्रतिनिधि सभा सदस्य निर्वाचनको आचारसंहिता पूर्ण रूपमा पालना सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मौन अवधिमा पर्ने होली पर्वलाई मर्यादित र अनुशासित ढंगले मनाउन आग्रह गरेको छ । शान्तिसुरक्षा र निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आज छ बुँदे निर्देशन जारी गर्दै कार्यालयले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

 

प्रशासनले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सबै सरोकार भएका निकायलाई संयमता अपनाउन र सौहार्दपूर्ण वातावरण कायम राख्न आग्रह गरेको छ । प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, “आचारसंहिता–२०८२ को पूर्णपालना गर्न तथा उल्लङ्घन गतिविधि भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गर्दछौँ ।”

होली मनाउने नाममा भीडभाड हुने कार्यक्रम गर्नुअघि अनिवार्य अनुमति लिनुपर्ने, सार्वजनिक स्थानमा होहल्ला तथा चर्को आवाजमा ‘डिजे’ बजाउन नपाइने र छरछिमेकलाई असर पर्ने गतिविधि नगर्न स्पष्ट निर्देशन दिइएको छ । साथै, कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने वा फोहर छ्याप्ने कार्य पूर्णत: निषेध गरिएको प्रशासनले जनाएको छ । मादक तथा नशालु पदार्थ सेवन गरी सवारीसाधन चलाउने, जबरर्जस्ती वा अमर्यादित व्यवहार गर्नेलगायत गतिविधिमा संलग्न भए कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

निर्वाचन सुरक्षामा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई अवरोध वा दु:ख दिने कार्य नगर्न विशेष आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीद्वारा हस्ताक्षरित सूचनामा निर्वाचन र पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य रहेको उल्लेख छ ।

Leave a Comment

सम्बन्धित खबर