
रौतहट–जिल्ला प्रशासन कार्यालय रौतहटले गौर–६ क्षेत्रका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ। पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रशासनले अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, धर्ना, नाराबाजी लगायतका गतिविधिमा रोक लगाएको हो।

प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा हालै भएको घटनापछि शान्ति–सुरक्षा कायम राख्न यस्तो निर्णय गरिएको उल्लेख छ। सूचनाअनुसार तोकिएको चार किल्लाभित्र पाँच जना भन्दा बढी व्यक्ति भेला हुन नपाउने, प्रदर्शन तथा उक्साहटपूर्ण गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ।
निषेधाज्ञा लागू गरिएको क्षेत्र गौर नगरपालिका–६ अन्तर्गतका संवेदनशील स्थानहरू रहेको प्रशासनले जनाएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रशासनले स्थानीयवासीलाई शान्ति कायम राख्न सहयोग गर्न र अफवाहमा नलाग्न आग्रह गरेको छ। क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।
दुई समुदायबीच किन भएको थियो झडप ?
गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रुप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।जिल्ला प्रशासन कार्यालयका अनुसार, शनिबार दिउँसो १ बजेबाट कर्फ्यू आदेश जारी गरिएको हो ।
मस्जिदमा प्राथना भइरहेको बेलामा हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सुरु भएको थियो । घटनापछि शुक्रबार बिहानैबाट रौतहटका गौर क्षेत्र तनावग्रस्त बन्न पुगेको छ । अहिले पनि अवस्था असामान्य बन्दै गएपछि कर्फ्यू जारी गरिएको हो ।
प्रशासनको सूचना अनुसार, पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले बताएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यासका सेलहरू प्रहार गरिरहेको छ । गौरको वडा नम्बर ४, ५ र ६ मा झडप भइ रहेको छ ।कर्फ्यू अवधिमा कुनै पनि व्यक्ति घरबाहिर निस्कन, भेला जुलुस गर्न, सभा प्रदर्शन गर्न तथा आवतजावत गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
झडपका क्रममा प्रदर्शनकारीहरुले केही सवारी साधनमा आगजनी गरेका छ्न् भने घरमा तोडफोड भएको तथा केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ।अवस्था बिग्रन नदिन प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरेको छ।
स्रोत : विश्वख्बर
