रौतहट : दुई समुदायबिच झडप, स्थित नियन्त्रणमा लिन सेना सहित पाँच सय भन्दाबढी सुरक्षाकर्मी परिचालन

संवाददाता
संवाददाता

संजय सहनी

वीरगञ्ज । रौतहट जिल्लाको गौर नगरपालिका–६ सबगढवामा हिन्दु र मुस्लिम समुदायबिच उत्पन्न विवादले हिंसात्मक रूप लिएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेनासहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घटनापछि क्षेत्रमा तनाव कायम रहेको छ भने प्रशासनले विवाद साम्य पार्ने प्रयास जारी राखेको जनाएको छ ।

स्थानीय स्रोतहरूका अनुसार, घटना बिहीबार राति सुरु भएको हो । एक हिन्दु समुदायको घरमा विवाह कार्यक्रम चलिरहेको बेला जन्तीहरू बाजा बजाउँदै सबगढवा गाउँ पुगेका थिए । सोही समयमा नजिकैको मस्जिदमा मुस्लिम समुदायका व्यक्तिहरू रातिको नमाज पढिरहेका थिए । बाजा बजाएको विषयलाई लिएर दुवै पक्षबिच भनाभन सुरु भएपछि मुस्लिम समुदायका केही व्यक्तिले डिजे समूहका सदस्यहरूलाई कुटपिट गरेको आरोप लागेको छ ।

घटनाको प्रभाव शुक्रवार बिहानैदेखि देखिएको छ । बिहानदे देखि दुवै समुदायबिच पुनः झडप सुरु भएको थियो । बिहानदेखि नै दुवै पक्षबाट ढुंगामुढा र पथराव भएको जनाइएको छ । घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ भने सुरक्षा स्थिति कडा पारिएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै भने, “स्थिति नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।” उनका अनुसार, नेपाल प्रहरीका एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा सक्रिय रूपमा खटिएका छन् । दर्जनौँ आश्रुग्यास प्रहार गरिए पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि थप फौज मगाइएको बताइएको छ ।

स्थानीय प्रशासनले दुवै पक्षका सर्वसाधारणहरूलाई संयमित रहन र अफवाहमा नपर्न आग्रह गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ । घटनाले जिल्लामा साम्प्रदायिक सद्भाव कायम राख्न चुनौती थपेको स्थानीयहरूको भनाइ छ ।

Leave a Comment

सम्बन्धित खबर