एक नेपाली किशोरीलाई सम्भावित मानव तस्करीबाट सशस्त्र सीमा बल वाहिनीले जोगाए

संवाददाता
संवाददाता

सन्तोष शुक्ल ( रुपैडिहा सम्बाददाता ) २ पौष २०८२

भारत–नेपाल सीमा क्षेत्र अन्तर्गत रुपैडिहा चेकपोस्टमा तैनाथ सशस्त्र सीमा बल (SSB) को ४२औं वाहिनीले एक नेपाली किशोरीलाई सम्भावित मानव तस्करीबाट जोगाएको छ ।

आज दिउँसो सीमा चौकी रुपैडिहामा नियमित चेकिङ तथा फ्रिस्किङका क्रममा एक नेपाली किशोरी र एक नेपाली युवक शंकास्पद अवस्थामा फेला परेका थिए । जाँचका क्रममा किशोरीले जन्म दर्ता प्रमाणपत्र देखाएकी थिइन्, जसअनुसार उनको उमेर १५ वर्ष रहेको पाइयो । युवकले किशोरीलाई आफ्नी पत्नी बताउँदै दुबै लखनऊ जान लागेको दाबी गरेका थिए । तर दुवैको नागरिकता कागजात जाँच गर्दा ती कागजात उनीहरूको नभएको र ठेगाना पनि फरक–फरक रहेको पाइएकोले सुरक्षा टोलीलाई शंका उत्पन्न भयो ।

गहन सोधपुछपछि किशोरीले आफू घरबाट भागेर आएको बताइन्। किशोरीका अनुसार उक्त केटासँग तीन वर्षदेखि फेसबुकमार्फत चिनजानमा थिए र सोही कारण युवकसँग भागेर आएकी थिइन्। भारत कहाँ लगिँदैछ भन्ने जानकारी भने उनलाई थिएन। किशोरीको मोबाइल फोनमार्फत उनका दाजुको फेसबुक आईडी प्रयोग गरी भिडियो कल गर्दा उनकी आमाले उक्त युवकलाई नचिनेको र छोरीलाई गलत नियतले बहकाएर लैजान खोजिएको आशंका व्यक्त गर्दै छोरीलाई साथमा नजान दिन आग्रह गरिन्।

सम्पूर्ण अनुसन्धानपछि यो घटना मानव तस्करीसँग सम्बन्धित देखिएकोले युवकलाई नेपाल प्रहरीको जिम्मा लगाइयो भने किशोरीलाई नेपाल प्रहरीको उपस्थितिमा नेपालस्थित NGO शान्ति पुनर्स्थापना गृहलाई सुरक्षित रूपमा सुम्पिएको छ।

Leave a Comment

सम्बन्धित खबर