आधार कार्ड र्‍याकेटको मास्टरमाइन्ड नेपाल भाग्दै गर्दा : यूपी एसटीएफद्वारा पक्राउ

संवाददाता
संवाददाता

१२ डिसेम्बर २०२५ – विशाल अवस्थी

उत्तर प्रदेशको विशेष कार्यदल (एसटीएफ) ले भारत–नेपाल सीमा नजिकै फर्जी आधार कार्ड बनाउने ठूलो र्‍याकेटको मुख्य नाइकेलाई नेपाल भाग्ने क्रममा पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहराइचको मूर्तिहा थाना क्षेत्रअन्तर्गत सेमरी मलमला गाउँका प्रमोद कुमार निषाद रहेका छन्।

शुक्रवार बिहान करिब ४:३० बजे रजनवा नेपाल सीमा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको यूपी एसटीएफका एडिसनल एसपी विशाल विक्रम सिंहले जानकारी दिए। प्रमोदको साथबाट ल्यापटप, मोबाइल फोन, बायोमेट्रिक तथा रेटिना स्क्यानर, वेबक्याम, फर्जी कागजात, चेकबुक, एटीएम कार्ड, नगद २,६८० रुपैयाँ र एउटा कार बरामद भएको छ।

एसटीएफका अनुसार, प्रमोदले सन् २०२१ मा जनसेवा केन्द्र खोलेर अनलाइन काम सुरु गरेका थिए। गत वर्ष टेलिग्राममार्फत अकील सैफी नामको व्यक्तिसँग सम्पर्क भएपछि उनले ३५ हजार रुपैयाँ तिरेर फर्जी आधार तथा डिजिटल प्रमाणपत्र बनाउने विशेष पोर्टल र आईडी–पासवर्ड लिएका थिए। यो पोर्टल ‘एनी डेस्क’ सफ्टवेयरमार्फत चल्थ्यो।

प्रमोदले यो वर्षको जनवरीदेखि मार्चसम्म मात्रै करिब २,५०० भन्दा बढी फर्जी आधार कार्ड बनाएको स्वीकार गरेका छन्। उनले फर्जी जन्म प्रमाणपत्र र स्थानीय निवास प्रमाणपत्र पोर्टलमा हालेर केही मिनेटमै तयार पार्थे र त्यसैको आधारमा ०–१८ वर्ष उमेर समूहका व्यक्तिका नयाँ आधार कार्ड तथा पुराना आधारमा संशोधन गर्थे। यी कार्डहरू मुख्यतः भारत–नेपाल सीमा क्षेत्रका बासिन्दालाई बेचिन्थ्यो।

यो र्‍याकेटको खुलासा गत अक्टोबर २९, २०२५ मा मूर्तिहा थानामा दर्ता भएको मुद्दाबाट भएको थियो। यसअघि नै गिरोहका केही सदस्य पक्राउ परेका थिए र उनीहरूको बयानमा प्रमोदको नाम मुख्य योजनाकारको रूपमा आएको थियो। त्यसपछि साइबर टोली खटाएर निगरानी गर्दा उनी नेपाल भाग्ने तयारीमा रहेको पत्ता लागेको थियो।

अहिले प्रमोदका बैंक खाता र डिजिटल वालेटको जांच भइरहेको छ। पोर्टल डेभलपर अकील सैफी, आईडी सप्लायर तथा अन्य संलग्न व्यक्तिको खोजी तीव्र पारिएको छ। बरामद ल्यापटप तथा इलेक्ट्रोनिक उपकरणको फरेन्सिक परीक्षण गरिने एसटीएफले जनाएको छ।

यो घटनाले भारत–नेपाल खुला सीमाको दुरुपयोग गरी राष्ट्रिय परिचयपत्रको ठूलो र्‍याकेट सञ्चालन भइरहेको पुष्टि भएको छ। थप अनुसन्धान जारी रहेको र चाँडै नै अन्य संलग्नलाई पनि पक्राउ गरिने एसटीएफले बताएको छ।

स्रोत : वयम भारत ( भारतीय सञ्चार माध्यम )

Leave a Comment

सम्बन्धित खबर