नरैनापुरमा सामुदायिक विद्यालयको लापरबाहीविरुद्ध युवाहरूको आन्दोलन, नेपालगञ्ज जाने बाटो अवरुद्ध

संवाददाता
संवाददाता

नरैनापुर (बाँके), मंसिर १७। बाँकेको नरैनापुर गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा भइरहेको लापरबाही र बेथितिविरुद्ध स्थानीय युवाहरू आन्दोलित भएका छन्। शिक्षा र स्वास्थ्यबाहेक गाउँपालिकाका सबै सेवा तथा यातायात सेवा अवरुद्ध गर्ने चेतावनीसहित आइतबारदेखि युवाहरूले आन्दोलन सुरु गरेका हुन्।

आन्दोलनको पहिलो दिन आइतबार बिहान नरैनापुर–नेपालगञ्ज सडकखण्डको कोहला नजिक करिब ३ घण्टासम्म सवारी साधन रोकेर बाटो अवरुद्ध गरिएको थियो। इलाका प्रहरी कार्यालय भोजभगवानपुरको अनुरोधमा दिउँसो ३ घण्टापछि मात्र बाटो खोलिएको आन्दोलनमा सहभागी नरैनापुर–६ का युवा नेता हेमकुमार यादवले बताए। उनका अनुसार आज साँझ बैठक बसेर भोलिदेखिको थप कार्यक्रम सार्वजनिक गरिनेछ।

आन्दोलनकारीहरूले मुख्य रूपमा यी माग अघि सारेका छन्:
युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख कृष्णकुमार चौधरीको तत्काल सरुवा गर्नुपर्ने , गाउँ शिक्षा समिति खारेज गर्नुपर्ने
कक्षा १–८ सम्मको स्थानीय पाठ्यक्रमका किताब यथाशीघ्र विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने , स्थानीय पाठ्यक्रम निर्माणमा भएको खर्च सार्वजनिक गर्नुपर्ने बताए ।

यस्तै कक्षा १–५ सम्म मापदण्डअनुसार दिवा खाजा व्यवस्था गर्नुपर्ने प्रत्येक विद्यालयमा खानेपानी, शौचालय र फर्निचरको उचित व्यवस्थापन गर्नुपर्ने, आधारभूत तथा माध्यमिक तहका सबै विद्यालयमा विषयगत शिक्षक दरबन्दी पूरा गर्नुपर्ने ,खेलकुद प्रशिक्षक र खेल सामग्रीको व्यवस्था गर्नुपर्ने , कार्यावधि सकिएका विद्यालय व्यवस्थापन समितिको तत्काल अभिभावक निर्वाचन गर्नुपर्ने , एउटै पदमा कार्यरत कर्मचारीलाई फरक–फरक तलब सुविधा दिइएको विषयमा छानबिन गरी “समान काम, समान ज्याला” लागू गर्नुपर्ने बताए ।

यसैगरी आन्दोलनमा सहभागी स्थानीय विनय दीक्षितका अनुसार माध्यमिक विद्यालयहरूमा लेखापालको एउटै पदमा पनि कुनै विद्यालयमा १८ हजार, कुनैमा २५ हजार र कुनैमा ५१ हजारसम्म तलब दिइएको छ। यसले कर्मचारीबीच मनमुटाव बढेको र केहीले अदालतमा मुद्दा समेत हालेका छन्। जसका कारण कर्मचारीमा निराशा र बितृष्णा छाएको तथा विद्यालयको दैनिक कामकाजमा समेत असर परिरहेको उनले बताए।

शिक्षा सुधारको माग गर्दै सुरु भएको यो आन्दोलनले नरैनापुरमा यातायात र प्रशासनिक सेवा प्रभावित हुन सक्ने देखिएको छ। आन्दोलनकारीहरूले शान्तिपूर्ण तर कडा संघर्ष गर्ने चेतावनी दिएका छन्।

Leave a Comment

सम्बन्धित खबर