बहराइच जिल्लामा नरभक्षी ब्वाँसोको त्रास: नौ जनाको मृत्युपछि ट्र्याक गर्न ड्रोन परिचालन

संवाददाता
संवाददाता

नेपालगन्ज । भारतको उत्तर प्रदेश राज्यका विभिन्न गाउँहरूमा पछिल्ला हप्ताहरूमा ब्वाँसोको आक्रमणबाट नौ जनाको मृत्यु भएपछि वन अधिकारीहरूले सम्भावित ‘किलर वुल्फ’ (नरभक्षी ब्वाँसो) ट्र्याक गर्न ड्रोन तैनाथ गरेका छन्। मृतकमध्ये अधिकांश बालबालिका रहेकाले स्थानीय बासिन्दाहरू अत्यन्तै त्रसित बनेका छन्।

बहराइच जिल्लामा आक्रमणको घटना बढ्दो छ। शनिबार १० महिनाकी एक बालिकालाई आमा छेउमै सुतिरहेको अवस्थाबाट ब्वाँसोले खोसेर लगेपछि उनको शव खेतमा मृत फेला परेको थियो। त्यसअघि शुक्रबार पाँच वर्षीय एक बालकलाई घरको बाहिर आमासँग देखेरै ब्वाँसोले तानेर लगेको थियो र उखुको खेतमा टाउको काटिएको अवस्थामा फेला परेका ती बालकको अस्पताल पुर्‍याउने क्रममा मृत्यु भएको थियो। अधिकारीहरूका अनुसार सेप्टेम्बरयता यस क्षेत्रका धेरै गाउँमा यस्तै ढाँचाका आक्रमणहरू दोहोरिँदै आएका छन्। प्रहरी, वन विभाग तथा मिडिया रिपोर्टहरूका अनुसार बहराइचमा पछिल्ला तीन महिनामा ब्वाँसोको आक्रमणबाट कम्तीमा नौ जनाले ज्यान गुमाइसकेका छन्, जसमा एक वृद्ध दम्पती पनि परेका छन्।

वन अधिकृत राम सिंह यादवका अनुसार घटनाहरू बढेपछि प्रभावित क्षेत्रमा ड्रोन, क्यामेरा ट्र्याप तथा प्रशिक्षित शुटरहरू तैनाथ गरिएको छ। उहाँले यस पटक ब्वाँसोको व्यवहार असामान्य देखिएको र हाल तिनीहरू दिउँसो नै सक्रिय हुँदै आएको बताए, जुन सामान्यतया देखिँदैन। अन्य अधिकारीहरूले पनि जनावरहरू असामान्य रूपमा साहसी र निडर देखिन थालेको बताएका छन्। गत वर्ष पनि बहराइचमा यस्तै आक्रमणको लहर देखिएको थियो, जसमा ब्वाँसोको समूहले कम्तीमा नौ जनाको ज्यान लिएको थियो। बहराइच जिल्ला नेपाल सीमा क्षेत्रमा अवस्थित घाँसे मैदान हो, जहाँबाट हिमालयको फेदीसम्म बाक्लो जङ्गल फैलिएको छ।

विज्ञहरूका अनुसार ब्वाँसोहरूले सामान्यतया मानिस वा गाईवस्तुहरूलाई भोकमरीको अवस्थामा मात्र अन्तिम विकल्पका रूपमा आक्रमण गर्छन्। साना मृगहरू जस्ता कम जोखिमयुक्त शिकार तिनको प्राथमिकता हुने बताइन्छ। भारतभर रहेका करिब तीन हजार ब्वाँसोमध्ये धेरैजसो संरक्षित क्षेत्र बाहिर, मानिसहरूको बस्ती नजिकै बसोबास गर्छन्। स्थानीय बासिन्दाहरू अझै त्रसित अवस्थामा दैनिक जीवन बिताइरहेका छन्।

Leave a Comment

सम्बन्धित खबर