
रुपईडिहा ( बहराइच ) भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्ला अन्तरगत रूपईडीहा थानाको प्रहरी र सशस्त्र सीमा बल (SSB) को संयुक्त टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा चरस ओसारपसार गर्ने एक जना नेपाली नागरिकलाई १ किलो ५९२ ग्राम चरससहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका–८ का ५२ वर्षीय रणबहादुर सिंह रहेका छन्।
रूपईडीहा थानाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मिति १५ मंसिर २०८२ सोमबार २०२५ डिसेम्बर १ तारिख (भारतीय समयअनुसार राति ११ः१४ बजे) इण्डो–नेपाल सीमा स्तम्भ नं. ६५१/१ नजिकबाट उक्त व्यक्ति चरस बोकेर भारततर्फ प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन्।
घटनामा संलग्न अभियुक्तविरुद्ध रूपईडीहा थानामा मुद्दा नं. ३४४/२०२५ अन्तर्गत NDPS ऐनको दफा ८/२० बमोजिम अभियोग दर्ता गरिएको छ। पक्राउ परेका सिंहलाई आवश्यक अनुसन्धानपछि मंगलबार (डिसेम्बर २, २०२५) बहराइचस्थित जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ।
उत्तर प्रदेश प्रहरीले सीमा क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणका लागि चलाएको विशेष अभियानकै क्रममा यो सफलता प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।


