
रुपईडीहा (बहराइच, उत्तर प्रदेश) । मंगलबार साँझ भारतको बहराइच जिल्ला अन्तर्गत रुपईडीहा नगर पञ्चायतमा भगवान श्रीरामको विवाहको पावन अवसरमा आयोजित दीपोत्सव कार्यक्रम अत्यन्त भव्य र अनुशासित रूपमा सम्पन्न भयो। रामलीला चोकलाई हजारौं दियो र रंगीन बत्तीले सजाइएको थियो भने आकाशमा लामो समयसम्म आतिशबाजीको मनमोहक दृश्य देखिएको थियो ।


कार्यक्रममा स्थानीय बासिन्दा, व्यापारी, सामाजिक संघ–संस्था र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजनको सम्पूर्ण जिम्मेवारी नगर पञ्चायत अध्यक्षका प्रतिनिधि डा. अश्विनी वैश्यले लिएका थिए। उपस्थितहरूले यो रुपईडीहाको हालसम्मकै सबैभन्दा व्यवस्थित र भव्य दीपोत्सव भएको बताएका छन्।
अयोध्यामा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा श्रीराम मन्दिरको शिखरमा ध्वजारोहण गरिएको स्मरणमा यो उत्सवलाई थप विशेष बनाइएको थियो। सहभागीहरूले भगवान रामको जीवन–आदर्शलाई स्मरण गर्दै यो पललाई ऐतिहासिक क्षण भनेका छन्।
कार्यक्रममा नगर पञ्चायत अध्यक्ष डा. उमाशंकर वैश्य, रतन अग्रवाल, निर्मल अग्रवाल, सञ्जय वर्मा, मनीराम शर्मा, श्रीचन्द कसौधन, सुशील तुलसियान लगायत सयौं सर्वसाधारणको उपस्थिति रहेको थियो।
