
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री वितरणमा रहेका मिठाई, कन्फेक्सनरी, बेकरी, प्रशोधित पेय पदार्थलगायतका खाद्य वस्तुमा अखाद्य तथा अनुमति नभएका रङहरूको प्रयोग तत्काल बन्द गर्न सम्बन्धित व्यवसायीहरूलाई कडा चेतावनी दिएको छ।

![]()
विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ र खाद्य नियमावली, २०२७ का प्रावधानहरू कार्यान्वयन गर्न निर्देशन दिएको हो।
खाद्य वस्तुमा कृत्रिम रंग प्रयोग गर्दा खाद्य नियमावली, २०२७ को अनुसूची–१० मा तोकिएका अनुमतिप्राप्त खाद्य रङहरू मात्र प्रयोग गर्न सकिने ती रङहरूको प्रयोग तोकिएको अधिकतम सीमाभित्रै गर्नुपर्ने विभागको भनाई छ । विभागले उद्योग, कपडा, कागज आदिमा प्रयोग हुने स्वास्थ्यका लागि हानिकारक मेटानिल येलो, रोडामिन बी, ओरेन्ज–२, सुडान जस्ता अखाद्य रङहरू खाद्य पदार्थमा प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। यी रङहरू क्यान्सरसमेत गराउन सक्ने घातक भएको चेतावनी दिइएको छ।

त्यस्तै, प्रशोधन नगरिएका मासु, माछा, फलफूल, तरकारी, मसला, दूध तथा दुग्ध पदार्थ, शिशु आहार, मह, घिउ, तेलजस्ता वस्तुमा कुनै पनि प्रकारको कृत्रिम रंग प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। कृत्रिम रंग प्रयोग गरिएका प्याकेजिङ खाद्य वस्तुहरूको लेबलमा “कृत्रिम रंग प्रयोग गरिएको भन्ने उल्लेख गर्नुका साथै प्रयोग गरिएको रंगको पूरा नाम वा अन्तर्राष्ट्रिय कोड नम्बर पनि स्पष्ट रूपमा नेपाली वा अंग्रेजी भाषामा लेख्नुपर्ने विभागले जनाएको छ ।

विभागले उल्लिखित व्यवस्थाहरूको उल्लङ्घन गर्ने कुनै पनि खाद्य व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिनेछ र त्यस्ता खाद्य वस्तुहरू जफत गरी नष्ट गरिने भनेको छ । साथै, उपभोक्ताहरूलाई आकर्षक रंगको भर नपरी खाद्य वस्तु खरिद गर्दा लेबलमा उल्लिखित विवरण राम्ररी पढेर मात्र खरिद गर्न अनुरोध गरिएको छ। कुनै पनि खाद्य वस्तुमा अखाद्य रंगको प्रयोग भएको वा शंका लागेमा तत्काल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयहरूमा जानकारी गराउन पनि विभागको आग्रह छ ।

स्रोत : प्रशासन
