
बाँके, २८ भाद्र २०८२ – जिल्ला प्रहरी कार्यालय बाँकेले हालै भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका वा फेला परेका प्रहरी तथा अन्य सुरक्षा निकायका सामग्रीहरू फिर्ता गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यही भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, सरकारी, गैरसरकारी, तथा निजी संघसंस्थाका हातहतियार, सञ्चार साधन, सवारी साधन, दस्तावेज, लिखत, वा अन्य कुनै सामग्री नियन्त्रणमा लिइएको वा कहीं कतै फेला परेको भए ती सामग्री नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय बाँकेमा फिर्ता गर्न अनुरोध गरिएको छ। फिर्ताका लागि सम्पर्क नम्बरहरू ९८५८०९०११० र ९८५८०९०९५५ उपलब्ध गराइएको छ।
यसैगरी, प्रहरीले प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरी पोशाक तथा अन्य प्रहरी सामग्रीको दुरुपयोग नगर्न र नगराउन पनि आग्रह गरेको छ। साथै, यस्ता सामग्रीसँग सम्बन्धित कुनै सूचना भएमा प्रहरीलाई उपलब्ध गराउन समेत सर्वसाधारणलाई अनुरोध गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले जारी गरेको यो विज्ञप्तिमा सामाजिक शान्ति र सुरक्षाका लागि सहयोग गर्न सबैमा अपिल गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँके, प्रेस विज्ञप्ति

