आन्दोलनका विदेशी पत्रकारमाथि समेत आक्रमण, नेपाल पत्रकार महासंघको आपत्ति

संवाददाता
संवाददाता

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा पत्रकारमाथि भएका आगजनी प्रयास, आक्रमण, दुर्व्यवहार र काममा अवरोधका घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर दुःख व्यक्त गरेको छ।

महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रेस स्वतन्त्रतामाथि ठाडो उल्लङ्घन हुनेगरी भएका घटनाहरू तत्काल छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरिएको हो।

महासंघका अनुसार पछिल्लो समय भएका केही प्रमुख घटना यसप्रकार छन् :

  • बाँके, कोहलपुर : समाचार संकलनका क्रममा सम्वेगन्यूज डटकम का पत्रकार निरज निश्चललाई आन्दोलनकारीले कुटपिट गर्दै क्यामेरा खोसेर जलाइदिए। निश्चलले कोहलपुर नगरपालिकाको भवनमा आश्रय लिएका बेला सोही भवनमा आगजनी हुँदा उनले पछाडिको छतबाट हामफालेर ज्यान जोगाएका थिए।
  • कैलाली, धनगढी : सिटिभिटी चोकमा पत्रकार दिपेन्द्र भट्टमाथि दुर्व्यवहार गर्नुका साथै उनको मोटरसाइकलमा आन्दोलनकारीले आगजनी गरे।
  • भक्तपुर, सूर्यविनायक : भादगाउँ टेलिभिजनका पत्रकार तुलसीकुमार त्वायनामाथि आन्दोलनकारीबाट भौतिक आक्रमण।
  • भक्तपुर : नागरिक दैनिक का पत्रकार कृष्ण केसीले खिचेका भिडियो तथा फोटो सुरक्षाकर्मीले जबर्जस्ती डिलिट गर्न लगाएको।
  • बालकोट, भक्तपुर : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा रिपोर्टिङका क्रममा महासंघ भक्तपुर कार्यसमिति सदस्य सुदर्शन आचार्यमाथि आक्रमण। टेलिभिजनको गाडी तोडफोड हुँदा आचार्य घाइते भए।
  • भक्तपुर प्रशासन कार्यालय : महासंघ कार्यसमिति सदस्य केशव तिमिल्सिनालाई विरोध प्रदर्शन रिपोर्टिङका क्रममा फोटो र भिडियो खिच्न नदिएको।
  • काठमाडौं : विदेशी पत्रकारमाथि समेत आक्रमण भएको गुनासो महासंघमा प्राप्त भएको।

महासंघले प्रेस स्वतन्त्रताको संरक्षण सुनिश्चित गर्न, दोषीलाई कारबाही गर्न तथा पत्रकार र सञ्चारगृहलाई भएको क्षतिपूर्तिको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा महासंघका महासचिव रामप्रसाद दाहालले आन्दोलनका क्रममा पत्रकारमाथि भएका निरन्तर आक्रमणले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासमै प्रश्न उठाएको उल्लेख गरेका छन्।

स्रोत : रातोपाटी

Leave a Comment

सम्बन्धित खबर