
नेपालगन्ज, भाद्र १६, २०८२ – नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत अठारौं राष्ट्रिय पुस्तकालय दिवस मूल आयोजक समितिले देशभरका पुस्तकालयहरूमध्ये बाँके जिल्ला कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई यस वर्षको ‘उत्कृष्ट पुस्तकालय’ को सम्मान प्रदान गरेको छ। यो सम्मान उक्त पुस्तकालयले स्थापनाकालदेखि हालसम्म स्थानीय समुदाय तथा बाँके जिल्लाको सामाजिक विकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै दिइएको हो।


ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले स्थापनासँगै शिक्षा, सूचना र सामाजिक जागरणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। स्थानीय समुदायका लागि पुस्तक, पत्रपत्रिका, डिजिटल सामग्री तथा विभिन्न कार्यक्रमहरू सञ्चालन गरी पठन संस्कृतिको विकासमा योगदान पुर्याएको छ। यसले बाँके जिल्लाका युवा, विद्यार्थी र सामान्य नागरिकहरूलाई ज्ञानको पहुँच प्रदान गर्दै सामाजिक विकासमा सक्रिय भूमिका खेलेको छ। मन्त्रालयका अनुसार, यो सम्मान देशभरका सयौं पुस्तकालयहरूको मूल्यांकनपछि प्रदान गरिएको हो, जसमा पुस्तकालयको व्यवस्थापन, पाठक संख्या, सामग्रीको गुणस्तर तथा सामाजिक प्रभावलाई आधार मानिएको छ।

नेपालमा पुस्तकालय दिवस वि.सं. २०६५ देखि भदौ १५ गतेबाट मनाउन थालिएको हो, जसलाई तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले वि.सं. १८६९ मा जारी गरेको लालमोहरद्वारा ‘पुस्तक चिताइ तहबिल’ स्थापनाको स्मृतिमा मनाइने गरिन्छ । यस वर्षको दिवसको नारा ‘हाम्रो पुस्तकालय : हाम्रो भविष्य’ रहेको छ र देशभर विभिन्न कार्यक्रमहरू सञ्चालन भएका थिए ।
यो अवसरमा श्री रत्न पुस्तकालय, काठमाडौंले सुरेन्द्र ढकाल फाउन्डेसनको आर्थिक सहयोगमा ‘महाकवि देवकोटा पुस्तकालय पुरस्कार’ बाट ज्ञानोदय सामुदायिक पुस्तकालयलाई सम्मानित गरेको छ। पुरस्कारसँगै सम्मानपत्र र ५०,००० रुपैयाँ नगद प्रदान गरिएको छ। यो पुरस्कार महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा पुस्तकालय सेवामा उत्कृष्ट योगदान दिने संस्थालाई दिइने गरिन्छ। सुरेन्द्र ढकाल फाउन्डेसनले नेपाली साहित्य र शिक्षा क्षेत्रमा विभिन्न पुरस्कार तथा सहयोग गर्दै आएको छ, जसले यस पटक पनि यो पुरस्कारको आर्थिक पक्षमा सहभागिता जनाएको हो।

ज्ञानोदय सामुदायिक पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले यो सम्मान प्राप्तिमा खुशी व्यक्त गर्दै यसलाई टिमको सामूहिक प्रयासको फल हो भने, उनले “यो सम्मानले हाम्रो पुस्तकालय सेवालाई थप जिम्मेवार बनाउँछ। स्थानीय समुदायको विकासमा हामी निरन्तर प्रतिबद्ध रहनेछौं,” भट्टराईले भने। पुस्तकालय टिमका सम्पूर्ण सदस्यहरूलाई यो अवसरमा हार्दिक बधाई दिए ।

राष्ट्रिय पुस्तकालय दिवस प्रत्येक वर्ष भाद्र १५ गते मनाइने गरिन्छ, जसले नेपालमा पुस्तकालय संस्कृति र पठन अभियानलाई प्रोत्साहन दिन्छ। यस वर्षको दिवसमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरी पुस्तकालयहरूको महत्वबारे छलफल गरिएको छ। शिक्षा मन्त्रालयका अनुसार, देशभर २२७ भन्दा बढी सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरू सञ्चालनमा छन्, तर तिनीहरूको दिगो विकासका लागि थप प्रयास आवश्यक रहेको भनिएको छ।

यो सम्मानले ज्ञानोदय पुस्तकालयलाई थप प्रेरणा मिलेको छ र यसले स्थानीय स्तरमा शिक्षा तथा सामाजिक विकासमा नयाँ आयाम थप्ने पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले बताए ।
