
नेपालगन्ज, १२ भदौ २०८२ – नेपालगन्जको सदरलाइनमा गणेश चतुर्थीको अवसरमा आयोजित गणेशोत्सवले स्थानीयवासी र व्यापारीहरूमा उत्साहको माहोल सिर्जना गरेको छ। सदरलाइनका राजाको रूपमा प्रख्यात गणपति बप्पाको पहिलो झलक हेर्न ठूलो संख्यामा भक्तजनहरू भेला भए। स्थानीय व्यापारी र समुदायले गणपति बप्पासँग क्षेत्रमा रोजगारी, समृद्धि र सुख-शान्तिको कामना गरे।


धार्मिक र आध्यात्मिक महत्वबारे पुजारी श्रीकान्त मिश्रले
गणेश चतुर्थी भाद्रपद शुक्ल चतुर्थीका दिन मनाइन्छ, जुन भगवान गणेशको जन्मदिन मानिन्छ। धार्मिक मान्यता अनुसार, गणपति विघ्नहर्ता र सिद्धिदाता हुन्। शास्त्रहरूमा उल्लेख भएअनुसार, यी दस दिनसम्म गणेशको विशेष उपासना गर्दा दसै दिशाबाट विघ्नहरू हट्छन् र साधकलाई ज्ञान, बुद्धि र समृद्धि प्राप्त हुन्छ भने।

यस्तै उनले आध्यात्मिक दृष्टिकोणबाट, गणेशोत्सव मूलाधार चक्रदेखि सहस्रार चक्रसम्मको साधनाको प्रतीक हो। गणपतिलाई मूलाधार चक्रको अधिपति मानिन्छ। दस दिनसम्मको उपासनाले साधकको नकारात्मक ऊर्जा नष्ट भई दिव्यता, शान्ति र सफलता प्राप्त हुन्छ मिश्रले बताए ।
दस दिनको उत्सव र विसर्जनको महत्व
शास्त्रहरूमा उल्लेख छ कि दस दिनसम्म निरन्तर उपासना र नियम पालन गर्दा देवताको पूजा पूर्ण फलदायी हुन्छ। त्यसैले गणेशोत्सव दस दिनसम्म मनाइन्छ र अन्तिम दिन अनन्त चतुर्दशीमा गणपतिको विसर्जन गरिन्छ।

विसर्जनको समयमा माटोको मूर्ति पञ्चतत्वमा विलीन हुन्छ, जसले जीवनको क्षणिकता र सबै कुरा अन्ततः विश्वमा समाहित हुने सन्देश दिन्छ। दस दिनको उपासनाबाट प्राप्त दिव्य ऊर्जा विसर्जनको समयमा वातावरणमा फैलिन्छ, जसबाट प्रत्येक भक्त लाभान्वित हुन्छ। विसर्जनले त्याग र अनासक्तिको सन्देश पनि दिन्छ। भक्तहरूले बप्पालाई बिदाइ गर्दै भन्छन्, “हे बप्पा, अब आफ्नो धाम फर्कनुहोस्, तर अर्को वर्ष अवश्य आउनुहोस्।”
गणेशोत्सवका लाभ
घर-परिवारमा सुख-शान्ति प्राप्त हुन्छ।
व्यापार र कार्यक्षेत्रमा सफलता मिल्छ।
मनका बाधा र जीवनका संकट हट्छन्।
आध्यात्मिक उन्नति र सकारात्मक ऊर्जाको वृद्धि हुन्छ।

सदरलाइनमा उत्सवको रौनक
नेपालगन्जको सदरलाइन क्षेत्रमा गणेशोत्सवको विशेष महत्व छ। यहाँका व्यापारी र स्थानीयवासीले गणपति बप्पाको पूजा-अर्चनासँगै सामाजिक एकताको सन्देश पनि फैलाए। मन्त्र “एकदन्ताय विद्महे, वक्रतुण्डाय धीमहि, तन्नो दन्ती प्रचोदयात्” को जापसँगै भक्तहरूले समृद्धिको कामना गरे।

पण्डालमा १० दिनसम्म पुजा बस्ने हरि ॐ मेडिकल हलका रोहित कुमार बैश्यले यो उत्सवले जीवनको गहिरो सन्देश दिन्छ – “जो आउँछ, ऊ जान्छ, र प्रत्येक अन्त्यपछि नयाँ शुरुआत हुन्छ।” नेपाल र भारतभर गणेश चतुर्थी धुमधामका साथ मनाइन्छ, र नेपालगन्जको यो उत्सवले धार्मिक, आध्यात्मिक र सामाजिक एकताको सन्देशलाई जीवन्त बनाएको भने।

