
नेपालगन्ज, १० भदौ २०८२ – आज हरतालिका तीजको पावन पर्व नेपाल र भारतका विभिन्न क्षेत्रमा ठूलो श्रद्धा र उत्साहका साथ मनाइँदैछ। हिन्दू धर्ममा विशेष महत्व राख्ने यो पर्व भाद्रपद मासको शुक्ल पक्षको तृतीया तिथिमा मनाइन्छ।


नेपालको बाँके जिल्लाका नेपालगन्ज, खजुरा, कोहलपुरलगायतका स्थानहरूमा महिलाहरूले सामूहिक रूपमा व्रत, उपवास, सांस्कृतिक नाचगान र प्रस्तुतिमा सहभागी भएर यो पर्व मनाइरहेका छन्। माता बागेश्वरी मन्दिर लगायत विभिन्न मन्दिर , टोल र गाउँहरूमा महिला समूहहरूले भजन–कीर्तन र नृत्यका कार्यक्रम आयोजना गरेका छन्।

नेपाल र भारतमा हरतालिका तीजको रौनक छाएको छ।
नेपालमा यो पर्व विशेषगरी अवधी समाज ,मिथिला, थारु र अन्य समाजका महिलाहरूले ठूलो उत्साहका साथ मनाउँछन् अवधी सान्स्कृतिक प्रतिष्ठान नेपालका संस्थापक साहित्यकार बिष्णुलाल कुमालले भने। उनले यस्तै मित्रराष्ट्र भारतका राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेश, बिहार र झारखण्डमा पनि यो पर्व ठूलो धूमधामका साथ मनाइन्छ। दक्षिण भारतका कर्नाटक, आन्ध्र प्रदेश र तमिलनाडुमा भने यो पर्वलाई ‘गौरी हब्बा’ को रूपमा मनाइन्छ, जहाँ भक्तहरूले स्वर्ण गौरी व्रत राखेर देवी गौरीको पूजा–अर्चना गर्ने गर्छन् बताए ।

व्रतको महत्व र मान्यतानुसार हरतालिका तीजको व्रत हिन्दू धर्ममा सबैभन्दा कठिन व्रतहरू मध्ये एक मानिन्छ, किनभने यो निर्जला (पानी र अन्नबिना) २४ घण्टासम्म गरिन्छ। यो व्रत विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु र सुखी वैवाहिक जीवनको कामना गर्दै राख्छन् भने अविवाहित कन्याहरूले मनचाहा जीवनसाथी प्राप्तिको लागि यो व्रत गर्छन्। मान्यताअनुसार, यो व्रत विधिपूर्वक गरेमा कुंवारी कन्याहरूलाई मनचाहा वर र विवाहित महिलाहरूलाई अखण्ड सौभाग्य प्राप्त हुन्छ भनी विश्वास गरिन्छ ।
यसैगरी यस व्रतको विधि–विधानहरु पनि रहेको छ।
महिलाहरूले निर्जला व्रत राख्छन् र दिनभर भगवान शिव र पार्वतीको पूजा गर्छन्।
घरलाई सफा–सुध्रा गरी तोरण र मण्डपले सजाइन्छ।
बालुवा वा शुद्ध माटोमा गंगाजल मिसाएर शिवलिंग, गणेश, रिद्धि–सिद्धि, माता पार्वती र उनकी सखीको प्रतिमा बनाएर पूजा गरिन्छ।
रातभर जागरण गरी भजन–कीर्तन र शिव–पार्वतीको कथा श्रवण गरिन्छ।
प्रत्येक प्रहरमा भगवान शिवलाई बेलपत्र, आमको पात, चम्पक र केवडा चढाइन्छ।

पूजा मन्त्र यसप्रकार रहेको नेपालगन्जको त्रिभुवन चोकमा रहेको शिवालयका पुजारी श्रीकान्त मिश्रले बताएनुसार ।
देवी पार्वतीका लागि:
ॐ उमायै नमः, ॐ पार्वत्यै नमः, ॐ जगद्धात्र्यै नमः, ॐ जगत्प्रतिष्ठयै नमः, ॐ शांतिरूपिण्यै नमः, ॐ शिवायै नमः
भगवान शिवका लागि:
ॐ हराय नमः, ॐ महेश्वराय नमः, ॐ शम्भवे नमः, ॐ शूलपाणये नमः, ॐ पिनाकवृषे नमः, ॐ शिवाय नमः, ॐ पशुपतये नमः, ॐ महादेवाय नमः
व्रतको समापन
दोस्रो दिन बिहान पूजा सम्पन्न गरेपछि व्रतको पारण गरिन्छ र अन्न ग्रहण गरी व्रत सम्पन्न गरिन्छ।

यस पर्वको सांस्कृतिक महत्व
हरतालिका तीजले महिलाहरूलाई सामूहिक रूपमा एकताबद्ध हुने र सांस्कृतिक मूल्य–मान्यताहरूलाई जीवन्त राख्ने अवसर प्रदान गर्छ। नेपाल र भारतका विभिन्न स्थानमा यो पर्वले सामाजिक एकता र धार्मिक आस्थालाई प्रगाढ बनाउँदै आएको नेपालगन्ज त्रिभुवन चोकमा रहेको शिवालयका पुजारी श्रीकान्त मिश्रले बताए ।

