भारतीय नेताको मनी लन्ड्रिङ प्रकरणमा नेपालका क्यासिनोसमेत अनुसन्धानमा

संवाददाता
संवाददाता

काठमाडौँ । भारतीय अधिकारीहरुले ठूलो मनी लन्ड्रिङ प्रकरणमा नेपालसहित श्रीलङ्का र जर्जियाका क्यासिनोहरूलाई अनुसन्धान दायरामा ल्याएका छन्।

यो प्रकरण कर्नाटक कांग्रेसका विधायक के.सी. वीरेन्द्र (उर्फ ” पप्पी ” ) सँग जोडिएको छ, जसलाई हाल भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरी हिरासतमा राखेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार वीरेन्द्र अनलाइन र अफलाइन दुवै प्रकारका सट्टेबाजी सञ्चालनसँग जोडिएको आशङ्का गरिएको छ। भारतकै गोवामा सञ्चालनमा रहेका क्यासिनो गोल्ड, ओसियन्स रिभर्स क्यासिनो, क्यासिनो प्राइड, ओसन ७ क्यासिनो, र बिग ड्याडी क्यासिनोलाई पनि उक्त प्रकरणमा संलग्न भएको भन्दै ईडीले अनुसन्धान थालेको छ।
अनुसन्धानकर्ताहरूका अनुसार यी क्यासिनोहरू साइबर ठगीमार्फत आर्जित अवैध रकम वैध बनाउने कार्यमा संलग्न थिए भन्ने ठोस संकेत भेटिएको छ। नेपाल, श्रीलङ्का र जर्जियामा रहेका केही क्यासिनोहरूलाई पनि वीरेन्द्रले ‘अफशोर व्यवसाय’को रूपमा प्रयोग गरेको हुन सक्ने आशङ्का गरिएको छ।
प्राधिकरणले भारतबाहिर सञ्चालन भइरहेका क्यासिनोहरूसँग सम्बन्धित लाभ–वितरण विवरणसमेत फेला पारेको बताइएको छ।

वीरेन्द्रलाई गत शनिबार सिक्किमबाट पक्राउ गरी अदालतको आदेशअनुसार अगस्ट २८ सम्म हिरासतमा राखिने भएको छ। साथै, उनले ‘लटरी किङ’ भनिने सान्तियागो मार्टिनसँग मिलेर ल्याण्ड क्यासिनो खरिद गर्ने तयारी गरेको विषयमा पनि अनुसन्धान भइरहेको छ।

मार्टिन विगतदेखि नै विभिन्न भारतीय राजनीतिक दलहरूलाई ठुला परिमाणमा आर्थिक सहयोग गर्ने व्यक्ति रहेका छन् र उनी पनि छुट्टै मनी लन्ड्रिङ प्रकरणमा अनुसन्धानमा तानिएका छन्।

स्रोत : रातोपाटी

Leave a Comment

सम्बन्धित खबर