
नेपालगन्ज, भदौ ७, २०८२ – नेपालगन्जको लखेरन टोलमा विगत डेढ शताब्दीभन्दा लामो समयदेखि सांस्कृतिक कार्यक्रमहरूको आयोजना हुँदै आएको छ। यो परम्परा विक्रम सम्वत १९०० मा शामीदयाल गुप्ताले सुरु गरेका थिए, जुन पुस्तौँपुस्ता हस्तान्तरण हुँदै हाल उनका परपोता सत्तन गुप्ताको नेतृत्वमा निरन्तरता पाइरहेको छ। ६० वर्षीय सत्तन गुप्ताले टोलवासीको सहयोग र संगतमा यो सांस्कृतिक धरोहरलाई जोगाइराख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।


लखेरन टोल, जुन नगर पन्चायत हुदै नगरपालिका र उपमहानगरपालिका सम्मको यात्रा गरेको टोल हो लखेरन टोल,यो टोल पहिले वडा नम्बर ९ र १० को सिमानामा पर्थ्यो, हाल नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ३ र ८ को सिमानामा अवस्थित छ। यहाँ श्रीकृष्ण जन्मोत्सव, नजिकैको झल्ला बगियामा, हालको उद्योग बाणिज्य संघ नेपालगन्जको पछाडी पट्टी पर्ने ( कुरेशी नगर) भित्र रहेको झल्ला बगियामा रामलीला हुने गरेको थियोे त्यसमा झाँकी प्रदर्शनी, राजगद्दी, भरत मिलाप जस्ता सांस्कृतिक कार्यक्रमहरू निरन्तर रूपमा आयोजना हुँदै आएका थिए।
त्यसैले यी कार्यक्रमहरू नेपालगन्जको सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा बनेका छन् र यो स्थललाई नेपालगन्जमा यस्ता सांस्कृतिक प्रस्तुतिहरूको पहिलो थलो मानिन्छ।

हिजो शुक्रबार, भदौ ६, २०८२ मा लखेरन टोलमा स्थानीय महिला मण्डलीले भगवान श्रीकृष्णको ५,२५२औँ जन्मोत्सवको अवसरमा छठी कार्यक्रम भव्य रूपमा मनाए। भजन-कीर्तनको माध्यमबाट आयोजित यो कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता थियो। यो उत्सवले सांस्कृतिक धरोहरको संरक्षण र समुदायको एकताको भावनालाई प्रस्ट देखाएको छ।

शामीदयाल गुप्ताबाट सुरु भएको यो परम्परालाई उनका छोरा रामबली गुप्ता, पाटनदीन गुप्ता हुँदै हाल सत्तन गुप्ताले टोलवासीको सहयोगमा जीवन्त राखेका छन्। सत्तन गुप्ताले यो सांस्कृतिक धरोहरलाई भावी पुस्तासम्म पुर्याउन आफूहरू प्रतिबद्ध रहेको बताए। उनले भने, “हाम्रा पुर्खाले स्थापना गरेको यो परम्परालाई हामीले जोगाउनुपर्छ। यो हाम्रो सांस्कृतिक पहिचान र एकताको प्रतीक हो।”

स्थानीय बासिन्दाहरूका अनुसार, लखेरन टोलको यो सांस्कृतिक गतिविधि नेपालगन्जको सामाजिक र धार्मिक जीवनको अभिन्न अंग बनेको छ। यस्ता कार्यक्रमहरूले समुदायमा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको भावना जागृत गर्नुका साथै युवा पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने काम गरिरहेको परपोता सत्तन गुप्ताले भने।

