
नेपालगन्ज, ६ भदौ
पत्रकार महिलाहरुका लागि नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको तीव बिशेष लेखनवृत्ती प्रतियोगिता कार्यक्रममा लक्ष्मी बिसीले लेखेको लेख प्रथम भएको छ । बिसीले लेखेको बढ्दो आधुनिकीकरण र तीजको मौलिकता शिर्षकको फिचर लेख उत्कृष्ट भएको हो ।


प्रतियोगितामा सहभागि आशा परियारले लेखेको ड्यूटीमै बित्छ प्रहरी महिलाको तीज शिर्षकको लेख द्वितीय भएको छ । यस्तै शिवानी बिकले लेखेको त्यसपछि फेरि कल्यिै तीज आएन शोभालाई शिर्षकको लेख तृतीय भएको छ । प्रतियोगितामा सहभागि भएका सात जनामध्ये आरती कट्टेल, निर्मला चौधरी, अछरी पोखरेल र शान्ति सुनार सान्त्वना हुनुभएको छ ।

कट्टेलले आमाबिनाको तीज ः खजुराकी भावनाको दश वर्षको खालीपन, चौधरीले तीजको मौलिकता र आजको विकृति, पोखरेलले श्रीमतीका किरिया किन नगर्ने ? र सुनारले पहिलेको तीज÷अहिलेको तीज शिर्षकको लेखले सान्त्वना स्थान ल्याउन सफल भएको हो । प्रतियोगितामा प्रथम भएको लेखले प्रमाणपत्रसहित पाँच हजार, द्वितीयले तीन हजार, तृतीयले दुई हजार र सान्त्वनाले क्रमश ः एक÷एक हजार पुरस्कार पाएका छन् ।

बिजेताहरुलाई नेपाली काँग्रेस बाँकेकी सचिव एवं लुम्बिनी प्रदेश सभा सदस्य सन्जु कुमारी चौधरी, युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसी र युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले संयुक्तरुपमा प्रमाण पत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले युनियनले पत्रकार महिलाको लेखन क्षमताको विकास होस भन्ने उद्देश्यले आयोजना गरेको यो कार्यक्रम रचनात्मक रहेको बताउनुभयो ।

युनियन बाँकेले नियमितरुपमा विभिन्न कार्यक्रमहरु गरेर आफुलाई सक्रिय बनाइरहेको र यो कार्यक्रमले पत्रकार महिलाहरुलाई पत्रकारितामा सक्रिय बनाउन प्रेरणासमेत दिने उहाँले बताउनुभयो । यस्तै युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष केसीले युनियनले राम्रो कार्यक्रम गरेको भन्दै आगामी दिनमा निरन्तरता दिन आग्रह गर्नुभयो । युनियन बाँकेका अध्यक्ष ढकालले युनियनले बाँकेमा पत्रकार महिलाहरुको क्षमता विकास हुने र लेखनसीपको विकास गर्न यो कार्यक्रम तीन वर्षदेखि निरन्तरता दिएको बताउनुभयो ।

उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभएको थियो । कार्यक्रममा युनियनका लुम्बिनी प्रदेश महासचिव एवं नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँके उपाध्यक्ष करुणा शाह, संचारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, क्रियाशिल महिला पत्रकार समूह बाँके अध्यक्ष साबित्री गिरीले शुभकामना व्यक्त गर्नुभएको थियो ।

यस्तै प्रतियोगिताको पुरस्कार छनौट समितिका संयोजक नीरज कुमार गौतमले छनौट प्रक्रियालगायतका बारेमा जानकारी दिनुभएको थियो भने सदस्य किरण आचार्यले तीजको बिशेषतालगायत यससँग जुटेको अध्यात्मिकताका बारेमा प्रकाश पार्नुभएको कार्यक्रममा युनियन बाँके कार्यसमिति सदस्य लक्ष्मी गौडेलले स्वागत गर्नुभएको थियो ।

युनियन बाँकेले लेखनवृत्ती प्रतियोगिता आयोजना गरेको यो तेस्रो पटक हो । शुक्रबार आयोजना गरिएको प्रतियोगिताको पुरस्कार वितरणसँगै तिज मिलन कार्यक्रम गरिएको युनियन बाँके सचिव भीष्म लोधले जानकारी दिनुभयो ।

